राजेश मिश्र, वीरगंज, २९ माघ/
हिन्दू धर्मावलम्बीहरूको प्रमुख धार्मिकस्थलहरूमध्ये जनकपुरधाम पनि एक हो। राजा जनकको नामबाट नामकरण भएको यो स्थल माता जानकीको जन्मभूमि पनि भएकोले जनकपुरधामको नामबाट प्रसिद्ध छ। मानिसहरू भक्तिभावका साथ माता जानकीको दर्शन–पूजनको लागि विभिन्न स्थानबाट जनकपुरधाम पुग्छन्। तर जानकी मन्दिरको प्राङ्गणमा जताततै फोहरै फोहर देखेपछि भक्तजनहरूले चित्त दुखाइ सुनाउँछन्।
भारत, गुजरातदेखि प्रयागराज–अयोध्या हुँदै करीब २५ जना भक्तजनको साथमा जनकपुरधाम आएका ६० वर्षीय अनिल मिस्त्रीले भने, “माता जानकीको पावन भूमिमा आएर मैले राम्रो अनुभूति भइरहेको छ, तर यहाँ सरसफाइको धेरै नै कमी छ।” सोही समूहका प्रणव मन्डाबियाले भने, “भगवान् श्रीरामको जन्मभूमि अयोध्याबाट माता जानकीको जन्मभूमिमा आएको छु। जानकी मन्दिर परिसर मैले सोचे अनुसार पाइनँ, यहाँ जताततै फोहर देखिन्छ।”
यसैगरी, परीक्षा दिन जनकपुरधाम आइपुगेकी नीरा चौधरी विवाहमण्डप अवलोकन गरिरहेकी थिइन्। उनी भन्छिन्, “यहाँ जताततै फोहोरै फोहर छ। यत्रतत्र पानीका बोतल र सुर्तीजन्य फोहोर छन्। कति भन्नु ? भनेर साध्य छैन,” भन्दै उनले प्रश्न गरिन्, “के यस्तै हुन्छ धार्मिकस्थल ?”
वीरगंजबाट पहिलोपटक जनकपुर आएकी गुडिया कुमारी भन्छिन्, “म त जुन परिकल्पनाका साथ यहाँ आएकी छु, त्यस्तो रहेन छ जनकपुरधाम।” उनको भनाइमा जनकपुरधाम पवित्रस्थल हो, र त्यसमाथि मधेस प्रदेशको राजधानी पनि। त्यस कारण जनकपुर फोहरयुक्त होला भन्ने रतीभर पनि कल्पना नगरेको उनले बताइन्।
जानकी मन्दिर वरपर सडकपेटीमा सिन्दुर–टीका आदिका व्यापार गर्ने महिलाहरूले फोहोर व्यवस्थापन र मन्दिरलाई सफासुग्घर पार्ने काम कुर्सीमा बसेकाहरूको भएको बताए। स्थानीय एकजना होटल व्यवसायीले आफूकहाँ आउने धेरैजसो सेवाग्राहीले जनकपुरमा सरसफाइको कमी रहेको गुनासो सुनाउने गरेको बताए। उक्त होटलमा खाना खाइरहेका मोरड्ढा एकजना पुरुषले रामानन्द चोकमा बिहान ओर्लेको र यत्रतत्र गुटखाको थुक देखेर वाक्कदिक्क भएको गुनासो गरे।
जनकपुरधामको प्रमुख स्थानहरूमध्ये जानकी मन्दिर, रामानन्द चोक र बसपार्क पनि एक हो। टाढादेखि जनकपुर आउने मानिसहरू यी ठाउँहरूमा नआउने कुरै हुँदैन। जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले जनकपुरसँगै मिथिलाबाट के लिएर गइरहेका छन् ? आआफ्नो गाउँँठाउँमा उनीहरूले जनकपुरबारे के सुनाउँदा होलान् ?
पर्यटकहरू मात्रै होइनन्, स्थानीय मानिसहरूको मनोविज्ञान अनुसार पनि सबैजनाको आकाङ्क्षा जनकपुरलाई सफासुग्घर हेर्ने हो। यसप्रति सम्बन्धित निकायले दायित्वबोध गरी अग्रसर हुनुको विकल्प छैन।