पश्चिमा समाजशास्त्रीहरूले सन् १९०० देखि हालसम्मको पुस्तालाई कालखण्ड वा समय र त्यस समयका मुख्य घटना, विचार र प्रविधिलाई ध्यानमा राखेर विभिन्न कालखण्डमा विभाजित गरेको पाइन्छ । यसमा सन् १९०१ देखि १९२७ सम्मको पुस्तालाई समेटेर Greatest Generation नामकरण गरिएको छ किनभने यस अवधिमा सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्वयुद्ध र त्यसपछि उत्पन्न त्रासदी भोग्दै सम्पूर्ण व्यवस्थालाई नै प्रणालीमा पु¥याएको मानिन्छ । सन् १९२८ देखि १९४५ सम्मको पुस्तालाई भने Silent Generation नामकरण गरिएको छ । यस्तो किनभने यिनले Greatest Generation ले स्थापित गरेको प्रणालीलाई आत्मसात् गरेर प्रणालीभित्र (Working Within the System)मा बसेर काम गर्दै दोस्रो विश्वयुद्धको विभीषिकालाई समेत भोग्नुपरेको थियो । यस्तै, सन् १९४६ देखि १९६४ सम्मको पुस्तालाई Baby Boomers नामकरण गरिएको छ । वास्तवमा युद्धको समाप्तिपछि एकाएक जन्मदरमा देखिएको वृद्धिका कारण यस्तो भनिएको हो । तर यो पुस्ताले पनि दोस्रो विश्वयुद्धको दुष्प्रभाव भोग्दै औद्योगिकीकरणमा फड्को मार्नुका साथै ठूलो आर्थिकमन्दीसमेत भोग्नुपरेको थियो । सन् १९६५ देखि १९८० को कालखण्डमा जन्मिएको पुस्तालाई भने Generation X भनिएको छ । हिप्पीवाद, शीतयुद्ध, एड्ससँग लड्दै उन्नत प्रविधिका यानहरूको निर्माण, अन्तरिक्षको खोज जस्ता उपलब्धिपूर्ण काम गरेको यो पुस्तालाई स्वतन्त्र तर काम र जीवनलाई सन्तुलनमा राखेर हिंड्ने पुस्ताको रूपमा लिइन्छ । यस्तै, सन् १९८१ देखि १९९५ सम्मको पुस्तालाई Generation Y भनिएको छ । उन्नत प्रविधि र विश्वव्यापीकरणको युगमा हुर्केको यो पुस्तालाई आत्मकेन्द्रित, अल्छी र भौतिकवादी भएको मानिन्छ ।
सन् १९९६ देखि २०१२ सम्म जन्मिएको पुस्तालाई Generation Z, सन् २०१३ देखि २०२५ लाई Alpha र २०२६ देखि जन्मिनेहरूलाई Generation Beta नामकरण गरिएको छ । हाम्रो यस लेखको मुख्य उद्देश्य नै Generation Z ले विसं २०८४ वा भनौं सन् २०२७ को नेपालको चुनावलाई कसरी प्रभावित गर्न सक्छ भन्ने नै हो । एक अध्ययनबाट देखिए अनुसार विश्वमा नै Gen Z को जनसङ्ख्या ३४ प्रतिशत रहेको छ र समग्र विश्वको व्यापारमा यिनको योगदान ६०० ट्रिलियन अमेरिकी डलर छ । नेपालमा भएको अध्ययनले पनि नेपालको कुल जनसङ्ख्यामा यिनीहरूको जनसङ्ख्या ३४.४ प्रतिशत रहेको यो पुस्ताको ३० प्रतिशत युवाहरू दैनिक आठ घण्टा जति समय नेट वा सामाजिक सञ्जालमा रहने गरेका छन् भने झन्डै ५० प्रतिशत तीनदेखि चार घण्टा इन्टरनेटको प्रयोग गर्छन् । सामाजिक सञ्जालको निरन्तर प्रयोगले यिनीहरूको रुचि अब पट्यारलाग्दो ४०–५० मिनेटसम्मको घण्टीमा पढ्नेछैन र के गर्ने नगर्ने वा के हेर्ने नहेर्ने भनेर निर्णय लिन बढीमा आठ सेकेन्डको समय मात्र लगाउँछन् । सामाजिक सञ्जालमा देखिने जीवनशैलीप्रति आकर्षित यिनीहरू स्वदेशमा गर्न सकिने आयबाट जीवन नचल्ने देखेर कक्षा १२ पछि अब ‘खाडीमा भेटौंला’ भन्ने कामना साटासाट गर्दै बिदा हुन्छन् । जानी वा नजानी यिनीहरू म्याकलुहानको ग्लोबल भिलेजको अवधारणालाई आत्मसात् गर्ने पुस्ताको रूपमा देखा पर्छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको १२औं राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको कुल जनसङ्ख्याको दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । आयोगकै तथ्याङ्क अनुसार १८ देखि ३० वर्ष उमेर समूहका ३७ लाख ८७ हजार ९१६ मतदाता छन्, जुन कुल मतदाताको २०.८९ प्रतिशत हुन आउँछ। यो पुस्ता अर्थात् Gen Z को ज्येष्ठ सदस्यको उमेर विसं २०८४ मा ३० वर्ष पुगिसकेको हुनेछ । विसं २०७६ भदौको उपनिर्वाचनमा २६.८३ प्रतिशत रहेको यो पुस्ताको मतदाता सङ्ख्या २०८१ को उपनिर्वाचनमा २२.२३ प्रतिशतमा झरेको छ । समग्रमा युवा पुस्ताको मतदाता सङ्ख्या बढ्दै गएको भएपनि Gen Z को भने घट्दै गएको देखिन्छ । यसको कारण विदेश पलायनलाई मानिएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार गत वर्ष अध्ययनको लागि करीब तीन लाख र रोजगारका लागि १३ लाख चानचुन युवाहरू विदेश लागेका छन् । यसमा भारतमा जानेहरूको गणना छैन ।
अब विसं २०८४ सम्म २० देखि २२ प्रतिशतसम्म मतदाता Gen Z को हुने आधारमा निर्वाचन परिणाम कस्तो होला भन्ने आकलन वा प्रक्षेपण गर्नुपर्ने हुन्छ । यस्तो प्रक्षेपण गर्न Gen Z को सामाजिक, आर्थिक र राजनीतिक सोचको बारेमा विचार गर्नुपर्ने हुन्छ । सामाजिकरूपमा घरपरिवार, साथी वा बाहिरी दुनियाँसँग कम समय बिताउन चाहने यो पुस्ता इन्टरनेटको दुनियाँमा औंला चलाएर बसिरहेको पुस्ता भएकोले हाम्रो समाजलाई अझै आरामदायक तथा सजिलो बनोस् भन्ने चाहना राख्छ । त्यसैगरी, अध्ययन र आर्थिक उपार्जनमा पनि यो पुस्ता पट्यारलाग्दो व्याख्यान र परम्परागत कार्यालयको दैनिकीमा बाँधिएर बस्न रुचाउँदैन । त्यसैले अध्ययन र अर्थोपार्जनमा स्मार्ट पद्धतिको प्रयोगमा रुचि राख्ने भएकोले आइटी, शेयर बजार, मनोरञ्जन र स्टार्टअपतर्फ बढी आकर्षित हुँदै गएको पाइन्छ । जीवन खानु र लाउनु मात्र होइन, यसका अतिरिक्त भ्रमण, मनोरञ्जनलगायत आधुनिक जीवनशैली प्रयोग गर्नु पनि हो भन्ने मान्यता राख्ने यो पुस्ता त्यसैले नेपालमा बसी २०–२५ हजार कमाएर केही नहुने भनी विदेश लागेको बुझ्न सकिन्छ ।
राजनीतिकरूपमा श्रीलङ्का र बङ्गलादेशमा जे भयो त्यसमा यसै पुस्ताको बाहुल्यता देखिएको छ । नेपालमा पनि Gen Z वर्तमान राजनीतिबाट वितृष्णा नै भोगिरहेको देखिन्छ । तर वितृष्णाले निराशा ल्याएको छ र त्यसैले यिनीहरूमा आक्रोश छ । यस अवस्थामा राजनीतिमा शुद्धीकरण नहुने हो भने यसले उग्ररूप लिन सक्छ तर यसमा एउटा तगारो के देखिन्छ भने Gen Z को मतदाता सङ्ख्या विदेश पलायनका कारण निरन्तर घटिरहेको छ । यहाँ केही हुन सक्दैन भन्ने भाष्यले गर्दा यो पुस्ता नागरिकता लिएपछि बाहिर जानेहरूले मतदाता नामावली दर्ता नगराउने गरेको पाइएको छ । किनभने दर्ता गराए पनि Postal Vote हाल्न भने नपाइने व्यवस्था छ । त्यस कारणले तत्कालै आँधीबेहरी आइहाल्ने अवस्था नभए पनि यो पुस्ताले निर्वाचनलाई भने प्रभावित गर्न सक्ने देखिन्छ ।
हुनत २०७४ कै चुनावमा स्वतन्त्रबाटै भएपनि युवाहरूको प्रतिनिधित्व बढ्दै गएर २०७९ मा यो बढ्दै गएको पाइएको छ र यसले हाम्रो निकायहरूमा कस्तो व्यक्ति उपयुक्त हुन्छ भनेर हमाल, बालेन्द्र र साम्पाङलगायत थुप्रै उदाहरणसमेत स्थापित गरिसकेकोले यो जमात को २०.८९ प्रतिशत मतदाता स्वतन्त्र उम्मेदवारबाट बढी प्रभावित हुने देखिएकोले परम्परागतशैलीका राजनीतिक गर्ने दलहरूले यस निर्वाचनमा समेत बहुमतको सरकार कुनै एक दलले बनाउने अपेक्षा गर्न सहज छैन । सत्तामा बसिरहन समानुपातिकमा संशोधन गरे पनि नगरे पनि फेरि गठबन्धनमैं जानुपर्ने बाध्यता आउने सम्भावना नै प्रबल देखिन्छ ।