नेपालमा राजनीतिक स्थिरता छैन । नेताहरूमा इमानदारी छैन । पद र सत्ता लोलुप नेताहरूको स्वार्थी व्यवहारले गर्दा देशमा आर्थिक विकास भइरहेको छैन । देशभित्र रोजगार छैन । रोजगारका लागि दिनहुँ ठूलो सङ्ख्यामा युवाहरू देश छोडिरहेका छन् । शहर वा गाउँका घरहरू युवाविहीन भएका छन् ।
देशभित्र उद्योग एवं व्यापारको स्थिति चौपट छ । उद्योगहरू बन्द हुँदैछन् । कृषिको स्थिति दयनीय छ । हामी दाल, चामल, फलपूmल पनि आयात गर्ने स्थितिमा छौं । भारतबाट खाद्यान्न, ऊर्जा (पेट्रोलियम पदार्थ), औषधि आयात नगर्ने हो भने हामी बाँच्न सक्दैनौं ।
आर्थिकरूपमा नेपाल जर्जर हुन पुगेको छ । विदेशमा काम गरिरहेका नेपालीहरूले रेमिट्यान्स नपठाउने हो भने नेपालमा कर्मचारीहरूलाई तलब दिन पनि रकम नपुग्ने स्थिति छ । नेपालभित्र उठ्ने करले साधारण खर्च पनि भुक्तान गर्न सकिंदैन । विकास खर्चका लागि अनिवार्यरूपले वैदेशिक ऋण लिनुपर्ने स्थिति छ । देशको टाउकोमा ठूलो ऋणभार छ । सन् २०२२ सम्म प्रत्येक नेपालीको शिरमा ऋण भार लगभग रु ७० हजार थियो भने अहिले त्यो वृद्धि भएर (सन् २०२४) लगभग रु ८२ हजार हुन पुगेको छ ।
रोजगार दिने नसक्ने स्वदेशका विश्व विद्यालयहरूको शिक्षा प्रणालीबाट निराश भएका नेपाली युवाहरू कलिलो उमेरमा नै अध्ययनका लागि विश्वका अनेकौं देशका कलेज एवं विश्वविद्यालय पुगिरहेका छन् । नेपालका कलेजहरूमा विद्यार्थीहरूको सङ्ख्यामा ठूलो कमी आएको छ । प्लस टु गर्नेबित्तिकै नेपाली युवाहरू विदेशका कलेजहरूमा पढ्न पुगिरहेका छन् । तिनका लागि देशले ठूलो मात्रामा वैदेशिक मुद्रा (डलर) भुक्तान गर्नुपरिरहेको दुःखद स्थिति छ । यदि ठूलो सङ्ख्यामा नेपालीहरू अध्ययनको लगि विदेश जाने स्थिति नभएको भए यत्रो विदेश मुद्रा खर्च गर्नुपर्ने थिएन । उक्त विदेशी मुद्रा नेपालको आर्थिक विकासमा खर्च गर्न सकिन्थ्यो ।
अहिले जनस्तरमा चरम निराशा छ । नेपालमा आर्थिक विकास होला भनी आशासमेत गर्न नेपालीहरूले छाडिसकेका छन् । सन्तानमात्र अहिले विदेश जाने हतारमा छैनन्, अभिभावकहरू पनि पठाउने हतारमा छन् । अभिभावकहरूले पनि आप्mना सन्तानको भविष्य देशभित्र सुरक्षित देखिरहेका छैनन् । बिछोडको स्थिति सहन गरेर पनि, छातिमा ढुङ्गा राखेर पनि, अभिभावकहरू आप्mना सन्तानलाई विदेश पठाउन इच्छुक छन् । उद्योग, व्यापार, सेवा देशको कुनै पनि आर्थिक क्षेत्रमा अब आउँदा दिनहरूमा प्रगति होला भनी नेपालीहरूले आशा गर्न छाडिसकेका छन् । सुखी र खुशी जीवन पाउन केवल एक विकल्प– विदेश जानु भएको छ ।
माथि गरिएका केवल निराशाजनक कुरा हुन् । तर निराशाले मात्र जीवन चल्दैन । देशको आर्थिक विकास हुँदैन । देशको आर्थिक विकासका लागि सर्वप्रथम हरेक नागरिक निराशाबाट मुक्त हुन जरुरी छ । निराशाका कुरामात्र गर्नुहुँदैन । हामीले आशाको पनि खोजी गर्नुपर्छ ।
हाम्रो स्थिति सदा निराश हुने किसिमको छैन । भोलिका दिन सुखद हुने आधारहरू धेरै छन् । भोलिका दिनमा नेपालमा आर्थिक विकासको गतिले तीव्रता लिने आधारहरू थुप्रै छन् । के–के हुन् त ती आधारहरू–
समाचारहरूले जनाए अनुसार अहिले करीब १ करोड नेपाली मुलुक बाहिर छन् । अध्ययन र आर्जनका लागि विश्वका अनेक देश पुगेका छन् । केही अपवाद बाहेक, केही वर्षपछि ठूलो सङ्ख्यामा नेपाल बाहिर रहेका नेपालीहरू फर्कने निश्चित छ । जब ठूलो सङ्ख्यामा नेपालीहरू सीप, शिक्षा र पूँजीसहित स्वदेश फर्कनेछन् उनीहरूले त्यो सीप, शिक्षा र पूँजी स्वदेशको आर्थिक विकासमा प्रयोग गर्नेछन् । यो कल्पनाको कुरा होइन । अहिले संसारका अनेक देश पुगेका भियतनामका नागरिकहरू स्वदेश फर्कंदैछन् । यसैगरी आइटीमा राम्रो शिक्षा पाएका भारतीय युवाहरू संसारका अनेक मुलुकबाट स्वदेश फिर्दैछन् । भारतमा नै उनीहरूले राम्रो अवसर देखिरहेका छन् । अफ्रिकी देश अंगोलामा पनि, संसारका अनेक मुलुक पुगेका नागरिकहरू स्वदेश फर्कंदै छन् । यस्तै स्थिति अफ्रिका अन्य देशमा पनि देखिएको छ । संसारका अन्य मुलुकका घटनालाई उदाहरण मानेर हेर्दा नेपालीहरू भविष्यमा स्वदेश फिर्ने कुरामा विश्वास गर्न सकिन्छ ।
आर्जन र नौलोपनाले गर्दा विदेशको बसाइँ रोमाञ्चक लागे पनि कालान्तरमा त्यो आकर्षण विकर्षणमा रूपान्तरित हुन्छ । स्वदेशजस्तो सामाजिक वातावरण पाउन कुनै पनि व्यक्तिलाई कठिन हुन्छ । अहिले देश बाहिर रहेका नेपालीहरूले विदेशको बसाइँलाई रोमाञ्चक मानिरहेका छन् । तर यो रोमाञ्चकताको आयु लामो हुँदैन, हुनेछैन । नेपालीहरूमा स्वदेश फिर्ने रहर स्वतः उत्पन्न हुन्छ, हुनेछ । उदाहरणका लागि, कुनै समय रोजगार एवं व्यापारका लागि बर्मा पुगेका धेरै नेपालीहरू पछि नेपाल फर्केका थिए । बर्माबाट नेपाल फर्केका धेरैको बसोवास भैरहवाको एक स्थानमा रहेको हुनाले त्यस स्थानको नाम नै ‘बर्मेली टोल’ राखिएको छ । यसैगरी भारतबाट पनि थुप्रै नेपाली नेपाल फर्केको उदाहरण पनि अनगिन्ति छ । मानिसहरू स्वदेश फर्कन इच्छुक हुन्छन् भन्ने कुरा हवाई कल्पना होइन, स्वयं यो लेखकले बोध गरेको यथार्थ हो । केही स्वेच्छा र बढी बाध्यताले गर्दा व्यक्तिहरू दूर देश पुगे तापनि उनीहरूको इच्छा भने आप्mनै देश फिर्ने रहेको हुन्छ ।
नेपालको राजनीति अहिले अति अस्थिर देखिएको छ तर त्यस्तो सदाकाल रहने छैन । हाम्रा राजनीतिक दल र तिनका नेताहरू पनि बिस्तारै अनुभवी हुँदै जान्छन् । परिस्थितिले पनि उनीहरूलाई अनेक शिक्षा दिन्छ र उनीहरूले सिक्छन् पनि । नेताहरूमा पनि परिपक्वता आउँछ र उनीहरूको नेतृत्व शैलीमा पनि परिपक्वता आउँछ ।
अङ्ग्रेजबाट मुक्त भएपछि भारत पनि कुनै समय, राजनीतिकरूपमा ज्यादै अस्थिर हुन पुगेको थियो । अहिले यति स्वतन्त्रता उपभोग गरिरहेका भारतीयहरूले कुनै समय प्रधानमन्त्री इन्दिरा गाँधीको ‘इमरजेन्सी’ भोग्नुपरेको थियो । नसबन्दी देख्नुपरेको थियो । एक समय भारतमा छ–छ महीनामा प्रधानमन्त्री फेरिने स्थिति थियो । तर भारतीय राजनीति र नेताहरू अनुभवी हुँदै गएपछि अहिले भारतको राजनीतिले स्थिरता प्राप्त गरेको छ । र त्यही राजनीतिक स्थिरताको बलमा भारत अहिले विश्वको पाँचौं ठूलो (जिडिपी ३.३८५ ट्रिलियन डलर) अर्थतन्त्र हुन पुगेको छ । भारतले यस्तै राजनीतिक स्थिरता निरन्तर पाउने हो भने भविष्यमा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुने सम्भावना छ । बौद्धिक क्षमता र प्राविधिक दक्षतामा भारतका नागरिकहरू विश्वका विकासशील देशका नागरिकको तुलनमा निकै–निकै अगाडि छन् ।
नेपालको राजनीति परिपक्व हुँदै गएपछि, नेताहरू पनि अनुभवी हुँदै गएपछि नेपालको राजनीतिमा स्थिरता आउने छ । आर्थिक विकासको गतिमा पनि तीव्रता आउने छ । यो कुरा विश्वासका साथ भन्न सकिन्छ ।
निराशा जगाउनु ठूलो कुरा होइन । निराशा जगाएर आप्mनो स्वार्थ पूरा हुन सक्छ तर निराशा जगाउने कार्यले देश र जनतालाई नै बर्बाद पार्छ । अहिले नेपालमा त्यही भइरहेको छ । जानेर वा नजानेर धेरै नेपालीहरूले निराशा उत्पादन गर्ने काम गरिरहेका छन्, निराशा उत्पादन गर्ने कारखाना नै खोलेजस्तो छ । हामी प्रत्येक दिन निराशा उत्पालन गर्ने कार्यमा लागेजस्तो छ ।
सन्दर्भ परिवर्तन गरौं । एउटा साधारण उदाहरण प्रस्तुत गरौं । अहिले अध्ययन र आर्जनका लागि कानूनी र गैरकानूनीरूपमा विश्वका अनेक देशहरूमा पुगेका नेपाली विद्यार्थीहरूमध्ये धेरैको भविष्य अनिश्चित हुन पुगेको छ । कहाँ र कसरी ? यो प्रश्नको उत्तर खोज्न म आदरणीय पाठकहरूलाई समाचारहरू पढ्न, सुन्न र हेर्न विनम्र अनुरोध गर्दछु ।
आर्थिक विकासको दृष्टिकोणले, भोलिका दिनहरू नेपालका लागि सुन्दर छन् । सुखद छन् । आर्थिक विकासका लागि आवश्यक पर्ने अनेक पूर्वाधारहरू हामीसँग पर्याप्त मात्रामा छ । प्राकृतिक स्रोत र साधन पनि पर्याप्त मात्रामा छ । हाम्रो राष्ट्रिय जलवायु पनि आर्थिक विकासका लागि अनुकूल छ । आर्थिक विकासका लागि आवश्यक पर्ने लगभग सम्पूर्ण कुराहरू नेपालमा पर्याप्त मात्रामा छन् । अस्थिर राजनीति र अनुभवहीन नेताहरूले गर्दा आर्थिक विकासको गति अहिले सुस्त हुन पुगेको हो । हाम्रो राजनीति स्थिर र नेताहरू अनुभवी एवं त्यागी भएपछि नेपालको आर्थिक विकासको गतिमा तीव्रता आउने छ । नेपालमा अवश्य पनि आर्थिक विकास हुनेछ । नेपाली धनी हुनेछन् ।