• ओमप्रकाश खनाल

जलवायु परिवर्तका बहुआयामिक असरहरू देखा पर्न थालेका छन् । नेपालमा प्राकृतिक विपत्तिदेखि उत्पादनका अनेक आयामहरूमा यसका प्रतिकूल प्रभाव प्रकट भएका छन् । औसत तापक्रम बढ्दा एकातिर सुक्खा, पानीको स्रोत घट्ने, बेमौसमी वर्षाबाट निम्तिएका बाढी र हिमतालहरू फुटेर विनाश निम्तिएका छन् । अर्कोतिर नेपालको उत्पादनमा सबैभन्दा बढी सम्भाव्य क्षेत्र भनिएको जलविद्युत् उत्पादनमा यसको दुष्प्रभाव देखिन थालेको छ । अधिकांश योजना नदी प्रवाहमा आधारित भएकाले हिउँदमा उत्पादन खुम्चिएर एकतिहाईमा झरेका समाचार सञ्चारमाध्यममा आएका छन् । उत्पादन खुम्चिएपछि यसको चक्रीय प्रभाव उत्पादनका अन्य सरोकारका परेको छ । नेपाल विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त घोषणा गरे पनि पछिल्ला दुई वर्षदेखि औद्योगिक क्षेत्र र करिडरहरूमा अघोषित विद्युत् कटौतिको समस्या चर्किएको छ । दिनमैं सात/आठ घण्टासम्म विद्युत् कटौति र ट्रिपिड्ढा कारण औद्योगिक उत्पादन नराम्ररी प्रभावित भइराखेको उद्यमीहरूले बताउँदै आएका छन् । यो आलेख जलवायु परिवर्तनले जलविद्युत् उत्पादनमा उत्पन्न प्रभावमा केन्द्रित छ ।

१० वर्ष अघि नै जलवायु परिवर्तनको असरका कारण नेपालले समृद्धि सपनासँग जोडेर हेर्दै आएको जलविद्युत् विकासमा गम्भीर चुनौती आइपर्ने एक अध्ययनले देखाएको थियो । सन् २०१४ मा एउटा राष्ट्रसङ्घीय निकायको प्रतिवेदनले जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने र हिउँ पग्लिएर हिमताल विस्फोट हुँदा जलविद्युत्मा प्रतिकूल असर पुग्ने चेतावनी दिएको थियो । त्यस बेला नेपालका २० वटा हिमताल उच्च जोखिममा रहेको र तीमध्ये छवटा अत्यन्तै संवेदनशील रहेको औंल्याइएको थियो ।

सन् २०२० मा अन्तर्राष्टिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गरेको एक अध्ययनले कोशी, गण्डकी, कर्णाली जलाधार क्षेत्रमा ३,६२४ वटा हिमताल पत्ता लगाएको थियो । तीमध्ये दुई हजारभन्दा बढी नेपालमा छन् । यो क्षेत्रका ४७ वटा हिमताल खतरनाक रहेको भनिएको थियो । खतराको सूचीमा रखिएकामध्ये नेपालमा २१, तिब्बतमा २५ र भारतमा एउटा रहेको अध्ययनले औंल्याएको थियो । यसरी पाँच वर्षको अन्तरतालमैं हिमतालको जोखिम उल्लेख्य तरीकाले बढ्नुलाई जलवायु परिवर्तनको असरसँग जोडेर हेरिएको छ ।

हिमाताल विस्फोटबाट हिमाली क्षेत्रको तल्लो क्षेत्रमा बनाइएका जलविद्युत् आयोजनामा खतरा रहने त्यो अध्ययनको निष्कर्ष थियो । जलविद्युत् आयोजनाका संरचना परिवर्तन गर्न सुझाइएको थियो । जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर हिमतालको खतरासँगै यसबाट पानीको स्रोत सुक्दै जाने र कालान्तरमा पानीको अभावमा जलविद्युत् उत्पादन नै कम हुने चेतावनी दिइएको थियो । अर्कातिर जलवायुु परिवर्तनका कारण हिउँदामा वर्षा कम हुने र यसको प्रभाव जलविद्युत्को उत्पादनमा पर्न जाने भनिएकोमा पछिल्ला केही वर्ष हिउँदे वर्षामा कमी आएको छ । त्यतिमात्रै होइन, वर्षात्को चक्र नै प्रभावित भएको छन् ।

पछिल्ला वर्षहरूमा हिमताल फुटेर विनाश निम्तिएका घटनाहरू बाहिर आइराखेका छन् । चार महीना अघि सोलुखुम्बुको थामेमा दुईवटा हिमताल विस्फोट हुँदा आएको बाढीले विनाश निम्त्याएसँगै यसबारे चासो र चिन्ता बाक्लिएको थियो । तर, यो चिन्ता समय क्रममा हराएर गएको छ । पुनः अर्को विनाश ननिम्तिएसम्म यो बहस ओझेलमा पर्ने हाम्रो औसत प्रवृत्तिलाई नानीदेखि लागेको बानी मात्र भन्न सकिन्छ ।

वर्षात्मा आवश्यकजति पानी नपर्ने र वर्षात् सकिएपछि अविरल वर्षाले भौतिक र मानवीय क्षति निम्त्याउने खालका घटना भएका छन् । बितेको असोजमा आएको बाढीले यस्तै भौतिक र मानवीय विनाश बोकाएर गयो । दुई सयभन्दा बढी मानिसको ज्यान गयो । हजारौं विस्थापित भए, अर्बौं रुपियाँ बराबरको भौतिक क्षति भयो । त्यसको केही अगाडि कञ्चनपुरमा भएको इतिहासकै भारी वर्षा र सिमलताल पहिरोजस्ता घटनालाई पर्यावरणीय असरसँग जोडेर हेरिएको छ । असोज पहिलो साताको बाढीले सबैभन्दा ठूलो उत्पादन क्षमताको माथिल्लो तामाकोशी भत्किएर उत्पादन घटेपछि अहिले विद्युत् कटौती झन् चर्किएको अवस्था छ । सरकारले त्यो आयोजना समयमा मरम्मत गर्न सकेको छैन । अहिले आधा माघ नबित्दै तापक्रम बढ्न थालेको समाचारहरू आएका छन् ।

सम्भाव्य उत्पादन क्षमता ४० हजार मेगावाट भनिए पनि अहिले नेपालको विद्युत् जडान क्षमता ३४०० मेगावाट छ । अहिलको उच्च माग १,८०० मेगावाट छ । वर्षायामका चार/पाँच महीना पूर्ण क्षमतामा उत्पादन हुँदा विद्युत् खेर जाने अवस्था छ । हिउँदमा एकतिहाई परिमाण भारतबाट आयात हुनेमा यो वर्ष भारतले रातिको समयमा मात्रै दिएको छ । यसले गर्दा आपूर्तिमा समस्या भएको छ ।

भार व्यवस्थापन मिलाउन उद्योगमा कटौती गरिएको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । विद्युत्को माग र आपूर्तिमा चरम असन्तुलन छ । अधिकांश आयोजना नदीको जलप्रवाहमा निर्भर भएकाले मौसमी उतारचढावले समस्या निम्त्याउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
विश्व मौसम सङ्गठनले नेपालमा केही वर्ष यता सुक्खा हिउँदको प्रक्षेपण गरेको थियो । हिउँद महीनामा करीब ६० मिलिमिटर वर्षा हुनुपर्नेमा २०८० को हिउँदमा १२.५ मिलिमिटर मात्र वर्षा भएको थियो । त्यसको अघिल्लो वर्ष २०७९ सालमा १५ मिलिलिटरमात्रै वर्षा भएको थियो । हिउँदमा परेका यस प्रकारको चरम सुक्खाका कारण पानीका स्रोत सुक्दै गएका छन् । पछिल्ला वर्षहरूमा औसत तापक्रम बढिरहेको र हिउँदमा सुक्खाको समस्या देखिएकाले यसको सीधा असर जलविद्युत् उत्पादनको क्षेत्रमा पर्न गएको सरोकार पक्षले बताउन थालेका छन् । ऊर्जा उत्पादकहरूको कुरा पत्याउने हो भने सुक्खा मौसममा उत्पादन क्षमताको कम्तीमा ३० प्रतिशत उत्पादन हुनुपर्नेमा विगत आधा दशकयता कुनैकुनै आयोजना त क्षमताको १० प्रतिशतभन्दा पनि कम उत्पादनमा खुम्चिएका छन् । बर्सेनि पाँचदेखि सात प्रतिशतसम्म उत्पादन घटेको देखिन्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनामा ३० प्रतिशतभन्दा कम उत्पादन वा त्योभन्दा कम आपूर्ति भएको अवस्थामा उत्पादकले विद्युत् खरीद सम्झौता अनुसार नेपाल विद्युत् प्राधिकरणलाई जरीबाना नै तिर्नुपर्दछ । यो चैत–वैशाखमा क्षमताको २० प्रतिशत जतिमा उत्पादन खुम्चिने अनुमान नेपाल विद्युत् प्राधिकरणको छ ।

प्राधिकरण नेतृत्व अहिले जलविद्युत् उत्पादनमा देखिएको समस्यालाई जलवायु परिवर्तनको असरसँग जोडेर हेर्न तयार छैन । यता अहिले उत्पादकहरूको सरोकार त्यो जरीबाना तिर्न नपरोस् भन्नेमा केन्द्रित भए पनि यो अवस्था भनेको हामीले लक्ष्यमा राखेका ऊर्जा विकास र यसको आधारमा आर्जन गर्ने भनिएको आयको अवरोध हो । उत्पादनहरूले जरीबानाको सरोकारलाई मात्र ध्यानमा राख्ने र प्राधिकरणले विषयान्तर मात्रै गर्दै जाने हो भने यो समस्याको गम्भीरता ओझेलमा पर्न जान्छ । यसबाट नेपालले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था नआउनेमा ढुक्क हुने स्थिति छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here