कार्यक्रमका लागि निम्ताहरू आउँदा जाउँ कि नजाउँ भन्ने दोधार उत्पन्न हुन्छ । अझ भारत बिहारको कुनै ठाउँबाट साहित्यिक कार्यक्रमको निम्तो आउँदा यो दोधारको मात्रा अलिक बढी हुन्छ । कार्यक्रम भने प्रायः आइतवार हुने र आपूmलाई फुर्सद शनिवार मात्र हुने । यता र उताको सरकारी बिदाको दिन मिलाउन कुनै चाडपर्व नै चाहिन्छ । यस्ता चाडपर्वको समयमा फेरि घरबाट फुर्सद लिएर निस्कन सजिलो हुँदैन ।
यसपटक निकै आग्रहपूर्ण निमन्त्रण आयो । कार्यक्रम वैशाली जिल्लामा थियो । वैशाली यस कारण पनि मेरो लागि आकर्षणको केन्द्र रहेको छ कि बज्जिका भाषाको जन्मस्थल यही मानिन्छ । विश्वको पहिलो गणतन्त्र मानिएको वैशाली भगवान् महावीरको जन्मस्थल पनि हो । वाल्मीकिरचित रामायणमा लक्ष्मणसहित राम आप्mना गुरु विश्वामित्रका साथ जनकपुर जाने क्रममा एकरात राजा सुमतिको दरबारमा बिताएका थिए जुन ठाउँ यहीं छ । भगवान् बुद्ध र आम्रपालीको संवाद भएको ठाउँ पनि वैशाली नै हो । ऐतिहासिक, सांस्कृतिक तथा पौराणिक दृष्टिकोणले महŒवपूर्ण वैशाली पुग्न त्यसैले लालायित हुन्छु । यस्तै बेला बज्जिका भाषाको क्षेत्रमा निरन्तर लागिरहेका केही मानिसले एकपटक वैशाली डुलाइदिन भनिरहेका छन् । निमन्त्रण मान्ने र डुल्ने–डुलाउने काम पनि हुने, एक पन्थ दुई काज बनेको थियो छजनाबीच ।
निमन्त्रण आएको थियो बज्जिका मन्दाकिनी भन्ने ह्वाट्सअप पेजको तर्फबाट । टोलीको नेतृत्व मैले गर्नुपरेको थियो । पुग्नु थियो वैशाली जिल्लाको गोविन्दपुरस्थित दुर्गा मन्दिर, बज्जिका महोत्सवमा । कार्यक्रमको लागि जारी पोस्टरमा हामी छजनाको नाम र फोटो छापिएको थियो । अति विशिष्ट अतिथि म थिएँ, विनापदको मान्छे । एकजना थिए, बज्जिका भाषा विकास परिषद् नेपालका संस्थापक अध्यक्ष तथा नेपालमा बज्जिका भाषाको नाममा कार्यक्रम गर्ने पहिलो व्यक्ति शिवचन्द्र साह । अर्का एकजना बज्जिका साहित्यकार तथा चिन्तक बिन्दा साहनी । अर्का थिए मेरा सदाका सारथि, बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण । यसैगरी अर्का थिए बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा । अनि छैटौं व्यक्ति थिए बज्जिका पत्रकार देवेन्द्र चौधरी । कार्यक्रमबारे मैले जानकारी पाउनासाथ जसजसलाई भनें, एक वचनमा सब तयार भए । प्रश्न र प्रतिप्रश्न गरे केवल श्रीकृष्णले गरे ।
कार्यक्रम हुने दिनभन्दा अघिल्लो दिन निस्कने सल्लाह भयो । निर्धारित समयमा मेरो घरमा गाडी पुग्छ र बिहानको पौने सात बजे निस्कन्छौं किनभने भनिएको छ सात बजे चिया खानु छ शिवचन्द्र साहकहाँ । मेरो घरमा गाडी आउँदा यहीं आइपुगेका छन् देवेन्द्र चौधरी । श्रीकृष्णले गाडी लिएरै आएका छन् । कार्यक्रममा जानका लागि रामचन्द्र मेरो निवासमा अघिल्लो दिन नै आइपुगेका छन् ।
अत्यधिक कुहिरो लागेको कारण हामी चढेको स्कारपिओले अपेक्षित गति लिन सकेको छैन । जब बैरगनियाभन्दा अलिकति पूर्व निस्कन्छौं तब श्रीकृष्णले थाम्न सक्दैनन् अनि शुरू हुन्छ वमन । अझ ढिलो हुने नै भयो ।
देकुली धामको दर्शन गर्छौं शिवहरमा । अनि त्यहीं सुन्दछौं–द्रोपदी चीरहरणस्थल यहीं छ भनेर । यहाँको शिवमन्दिरको इतिहासबारे पनि जानकारी लिन्छौं । महाभारतकालीन मन्दिर भएको जानकारी प्राप्त हुन्छ । महाभारतसित जोडिएको अर्को घटना भएको थियो चीरहरण । किंबदन्ती र स्थानीयहरूसित केही थप जानकारी प्राप्त गर्दछौं । यहाँ धेरै अलमल गर्दैनौं । बागमती नदीको किनारमा रहेको यो बजारलाई बाईबाई गर्दै अगाडि बढ्दछौं । भोक लागिसकेको छ तर खाना खाने ठाउँ पाउँदैनौं । श्रीकृष्णले धेरैपटक वमन गरेको कारण जहाँ खाना पाइन्छ खाइहाल्न सर्वसम्मत बनेको छ । यस यात्रालाई खानाको दृष्टिकोणले असफल नै मान्नुपर्छ । कहीं कतै चित्तबुझ्दो खाना पाइएन, दुई दिन नै ।
एउटा सामान्य होटलमा खाना खाएर अगाडि बढ्दछौं । मुजप्mफरपुरलाई बायाँतिर छाड्दै यात्रा अगाढि बढ्दछ वैशालीतिर । वैशाली नजीक पुगिसकेपछि भगवान् महावीरको जन्मस्थल आउँछ । त्यहाँ दर्शन गर्दछौं । त्यहीं बाहिर चिया खान्छौं । चिया पसले बज्जिका भाषाका प्रेमी रहेछन् । अलिक छलफल हुन्छ । त्यहाँबाट अगाडि बढ्दै सबैभन्दा पहिले पुग्छौं त्यो ठाउँ जहाF राम, लक्ष्मण आप्mना गुरु विश्वामित्रसित जनकपुर जाने क्रममा राजा सुमतिको दरबारमा बसेका थिए । वाल्मीकि रामायणमा यो प्रसङ्ग पाइन्छ । त्यस दरबारको अवशेष अझै छ । उनका पूर्वज राजा विशालको दरबारको भग्नावशेषलाई सरकारले सुरक्षित राखेको छ । त्यसको अवलोकनपछि पुष्करणी पोखरीको दर्शन गर्दछौं । विश्वको पहिलो गणतन्त्र भनेर जानिने बज्जी सङ्घ वा लिच्छवि सङ्घको राजधानी वैशालीको यही पुष्करणीमा अभिषेक हुन्थ्यो । अत्यन्त चर्चित यस स्थानपछि लाग्छौं त्यहाँ जहाँ भगवान् गौतमबुद्धको भेट विश्वसुन्दरी आम्रपालीसित भएको थियो । उक्त स्थानमा अहिले पनि अशोक स्तम्भ रहेको छ । अशोक स्तम्भ वरपर सयौं बौद्धमागीहरू छन् विभिन्न देशका । यहाँ पस्नको लागि लाग्ने टिकटको मूल्य अहिले बढेको रहेछ । त्यहाँबाट निस्केपछि अब हतार भइसकेको छ हाजीपुर पुग्नको लागि । हाजीपुर अझै करीब चालीस किलोमिटर टाढा छ र अब श्रीकृष्णलाई खाना नखाई भएको छैन । उनी सूर्यास्त पछि भोजन नगर्दा रहेछन् ।
अगाडि बढ्दै जाँदा बाटोमा एउटा बजार आउँछ–लालगंज । बोर्डमा यो पढ्नासाथ सम्झना हुन्छ, साधना कृष्णको । साधना कृष्ण हुन् चर्चित साहित्यकार । हिन्दी र बज्जिका भाषामा लेख्ने यी महिला साहित्यकारको घर यहीं छ भन्ने मलाई निश्चित छ । फोन लगाउँछु, तुरुन्त सम्पर्क हुन्छ । सम्पर्क हुनासाथ भन्छु म लालगंजमा छु र हाजीपुरतिर गइरहेको छ । उनी भन्छिन् –आउनुस्, म बाटोमा निस्किइसकें । नभन्दै बाटोमा थिइन् । हामी उनीसितै जान्छौं उनको घर । एक साहित्यकारको घरमा हामी आधा दर्जन मानिसहरू पुग्दा जस्तो स्वागत हुन्छ, त्यो शब्दमा वर्णन गर्न सजिलो छैन । एक साहित्यकारसित अर्को साहित्यकारको जुन अघोषित नाता हुन्छ, जुन प्रेम हुन्छ त्यो हामी बेहोर्दछौं । धन्य हुन्छौं हामी स्वागतले ।
त्यहाँ परिचयको सामान्य औपचारिकता पूरा हुन्छ । साधना कृष्णको यस भनाइले मेरो गर्वले छाती फुल्छ– हिन्दीमा म तीस वर्षदेखि लेखिरहेकी छु तर बज्जिका भाषामा भने सञ्जय साह ‘मित्र’को प्रेरणाले लेख्न थालेकी हुँ ।
सयौं किलोमिटर टाढासम्म मेरो प्रेरणा पुगेको रहेछ । मेरो अन्तर्हृदयमा एउटा ठूलो सन्तोष आर्जनको आभास हुन्छ । म हेटौंडा रहँदा सयौं मानिसको रचना छापेको छु । गत दुई दशकमा रौतहटमा पनि धेरै साहित्यकार जन्माएको छु । सँगै रहेका साहित्यकार बिन्दा सहनीको भनाइ पनि यहीं छ । एकपटक मनमा जुन शान्ति, सन्तोष र गर्वको त्रिवेणी उत्पन्न हुन्छ, त्यसमा डुबुल्की मारेको पाउँछु । अनुहारमा मुस्कान त छ तर आँखामा भने पानीको एउटा मसिनो डोरो पनि अनुभव गर्दछु । एक नजर सबैतिर पु¥याउँछु, मनमा घमण्ड नहोस्, लाग्दछ कि सबैमा कुनै न कुनै रूपमा मेरो प्रभाव छ । फेरि मनमा तुरुन्त उब्जन्छ, मनमा पाप आउन दिनु हुँदैन । भाषा र साहित्यको सेवामा निरन्तर लागिरहँदा यस प्रकारको भावना आउँदा बाटो बिराउने डर हुन्छ । आपूmलाई त भाषा र साहित्यको सेवा गर्नुछ, गराउनुछ । त्यहाँबाट निस्कँदा कुनै आफन्तको घरबाट बिदा भएर निस्केको जस्तो मन भारी भएको छ । कस्तो अचम्म, करीब सबैलाई उही अनुभूति छ । यहाँ त यस्तो अनुभव भइरहेको छ कि सबै आफन्तै छौं । सबै आफ्नै छौं । आफ्नै मान्छे र आफन्तहरूको साथमा यात्रा गरेका रहेछौं, आफन्तलाई भेट्न । हुन पनि हो, जसले हामीलाई निमन्त्रण गरेका छन् र जसको विश्वासमा हामी पुग्दैछौं उनलाई कहीं कतै देखे–भेटेका छैनौं । र पनि तानिएका छौं, खिचिएका छौं, पुग्न लालायित छौं, आफन्तै भएको विश्वासमा त
हो ।
केही अगाडि बढ्दा एउटा बोर्डमा लेखेको पढ्छु–घटारो । यहींका मानिस त हुन् निम्तो दिने । म्यासेन्जर, मोबाइल नम्बर र ह्वाट्सअप खोज्दा र फोन लगाउँदा घटारोबाट निस्किइसकेका छौं । उनीसित सम्पर्क हुनासाथ भन्छन्–पख्नुस्, म घरै छु । सडकमा आइहाल्छु । आज यतै बस्दा पनि हुन्छ तर म कसैलाई दुःख दिन नचाहने मानिस । भन्छु, भोलि बिहान कार्यक्रम थलोमैं भेटौं । अनि हाजीपुरको लागि यात्रा गरिरहन्छौं । धरतीमा अँध्यारो राम्ररी खसिसकेपछि हाजीपुर रेलवे स्टेशन पुग्छौं । ठीक अगाडि एउटा होटलमा बसोवासको व्यवस्था हुन्छ । आरामले खाना खान्छौं र सुत्ने तर्खर गर्छौं । त्यहाँ आइपुग्छन् दुईजना साहित्यकार तथा पत्रकार । गज्जबको स्वागत छ ।
सुत्नु अघि फेरि लाग्दछ, आफन्तको शहरमा छौं । यहाँको वातावरणमा पनि हामीसित स्नेह रहेछ । राति निदाउनु अघिसम्म सबै कुरो लाग्दछ, योजना अनुसार चलेका छौं । भोलि बिहान उठेर यहाँका केही हेर्नैपर्ने स्थानहरू हेरी कार्यक्रमतर्फ जाने निधो हुन्छ । तीनओटा कोठामा हामी छरिएर एकले अर्कोलाई भन्दछौं, शुभरात्रि !