प्रस, वीरगंज, ९ माघ/
चाइल्ड रेस्क्यू नेपाल तथा छोराछोरी नेपालको संयुक्त आयोजना र सानो पाइलाको सहयोगमा बालश्रम रोकथाम तथा बाल श्रमिकहरूको संरक्षणका लागि सरोकारवालाहरूसँग गोलमेच छलफल भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमले बालश्रम रोकथाम तथा बाल श्रमिक, अनाथ दलित बालबालिकाहरूको संरक्षणका लागि महानगरको साथ र सहयोग रहँदै आएको बताए ।
चाइल्ड रेस्क्यू नेपालले पाँच दिन अघि भारतमा जबरजस्ती श्रममा लगाइएका दुईजना नेपाली बालकको उद्धार गरी परिवारसँग पुनर्मिलन गराएको जानकारी दिएको थियो ।
ती किशोरहरू मुम्बईस्थित प्लास्टिकको झोला बनाउने कारखानामा कठोर वातावरणमा लामो समयसम्म काम गरिरहेको भेटिएपछि हस्तक्षेप गरी उनीहरूलाई घर ल्याइएको थियो । संस्थाले गत वर्ष ४५ जना बालबालिकाको उद्धार गरेको जानकारी गराइएको थियो ।
कार्यक्रममा रञ्जना पण्डित, प्रहरी निरीक्षक रमेशकुमार तिमल्सिना, वडा अध्यक्ष बैजुलाल स्वर्णकार, नारायणी अस्पतालकी हेमा थापालगायतको सहभागिता थियो ।