धर्मेन्द्र चौरसिया, पोखरिया, ७ माघ/
पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तरतर्फ थरुहट क्षेत्रका किसानहरू जङ्गली र घरेलु जनावरहरूबाट बाली जोगाउनका लागि मचान बनाएर खेतको सुरक्षा गर्छन् भने गण्डक नहरदेखि दक्षिण भेगका किसानहरू खेतमा पुतला बनाएर पशु चौपाया र चराचुरुङ्गीहरूबाट बाली जोगाउँदै आएका छन् ।
थरुहट क्षेत्रमा गहुँ, मकै, आलु, तोरी, सुर्ती खेती जङ्गली जनावरहरूबाट जोगाउनका लागि किसानहरू मचान बनाएर चीसोमा पहरेदारी गर्छन् । पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनबाट जङ्गली जनावरहरू आएर बाली नष्ट गर्छन् । वन क्ष्Fेत्रसँग जोडिएका खेतहरूमा किसानहरू मचान बनाएर ढोलक, टीन, पटका, मशाल आदि लिएर जङ्गली जनावर धपाउन सक्रिय हुन्छन् । दिनभरि घरेलु गाईवस्तुहरू र चराचुरुङ्गीबाट बाली जोगाउनका लागि थरुहट क्षेत्रमा थोरै सङ्ख्यामा पुतलाहरूको प्रयोग गरिन्छ । अधिकांश खेतमा जङ्गली जनावरहरूको आक्रमण हुने गरेकाले यहाँका किसानहरू मचान बनाएर साँझदेखि पहरेदारीमा खटेका हुन्छन् ।
बझियानमा भने गाईवस्तु, नीलगाई र चराचुरुङ्गीहरूबाट बाली जोगाउनका लागि पुतलाको प्रयोग बढी हुने गरेको छ । मानिस आकारको पुतला खेतको बीच भागमा राख्दा गाईवस्तु, चराचुरुङ्गीहरूले बालीलाई नोक्सान नपु¥याउने र यसको प्रतिफल पनि राम्रो हुने गरेको जगरनाथपुर गाउँपालिका–५ धर्मपुरका किसान धोडा पण्डित बताउँछन् । उनले बझियानमा नीलगाईले बालीमा उपद्रो गर्ने गरेको बताए । बाली हुर्कंदाको समयमा चराचुरुङ्गीहरू र बाली हुर्की बढेपछि नीलगाईको आतङ्क शुरू हुने गरेको बताए । किसान पण्डितले खेतको बीच भागमा किसानहरूले बाली जोगाउनका लागि पुतलाको प्रयोग गर्दै आएको बताए । पुतलाबाट बालीको सुरक्षा गर्ने परम्परा पुरानो भएको र अहिलेसम्म लाभदायक ठहर भएको उनी बताउँछन् । किसानहरू हरबखत खेतमा गएर पहरेदारी गर्न नसक्ने हुँदा उनीहरूले यस प्रकारको जुक्ति अख्तियार गरेको उनले बताए । ज्यालामा मानिसहरू खटाएर साध्य नहुने भएरै पुस्ता दर पुस्तादेखि पुतला राख्ने प्रचलन रहेको उनले बताए ।
प्रस, निजगढ/
बारा जिल्लामा पनि किसानहरूले पुतलाको प्रयोग गरेर बाली जोगाउँदै आएका छन् । जङ्गली र घरेलु जनावरहरू, चराचुरुङ्गीहरूबाट बाली जोगाउन खेतको बीच भागमा मानवरूपी पुतला बनाएर राख्ने गरिएको किसानहरू बताउँछन् । खासगरी गहुँ, तोरी, दलहन, मकै, आलुलगायतका बालीहरूमा जङ्गली र घरेलु जनावरहरू, चराचुरुङ्गीले दुःख दिने गरेको किसानहरू बताउँछन । पुतलाको कारण बालीहरूमा क्षति कम हुने गरेको उनीहरूले बताए ।