प्रस, सिम्रौनगढ, ८ माघ/
भारतको गणतन्त्र दिवसको अवसरमा रक्सौलदेखि जयनगरसम्म रेल चल्ने भएपछि नेपाल–भारत सीमावर्ती क्षेत्रका बासिन्दा खुशी भएका छन् ।
२५ जनवरीका दिन रेलको उद्घाटन गरिने समस्तीपुर मण्डल रेल प्रबन्धक विनय श्रीवास्तवले जानकारी गराए । यो रेल भारत बिहारको रक्सौलदेखि सीतामढीसम्म चल्ने भएपछि बारा, पर्सा, रौतहटलगायतका सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई लाभ पुग्ने बताइएको छ ।
श्रीवास्तवका अनुसार सो रेल रक्सौलबाट शुरू हुँदै घोडासहन, बैरगनिया, सीतामढी, पुपरी हुँदै दरभङ्गा, जयपुरसम्म चल्नेछ । प्रत्येक दिन बेलुका रक्सौलबाट ७ः३५ बजे खुल्ने यो रेल घोडासहनबाट ८ः२० बजे खुलेर दरभङ्गामा राति ११ः०५ बजे पुग्दै बिहान ३ः१० बजे जयनगर पुग्ने श्रीवास्तवले बताएका छन् । त्यस्तै, रेल जयनगरबाट ५ः१० बजे खुलेर दरभङ्गा, घोडासहन ९ः१५ बजे र १०ः२० बजे रक्सौल पुग्ने श्रीवास्तवले बताए ।
रक्सौल–जयनगरसम्म चल्ने यो रेल घोडासहन, बैरगनिया, सीतामढी, जनकपुररोड, दरभङ्गा, सकरी, पण्डौल, मधुबनी, राजनगरमा रोकिने श्रीवास्तवले बताए ।
७५२१५/१६ नम्बरको यो रेलमा आठवटा बोगीको व्यवस्था रहेको छ । यसका साथै रेल रक्सौलको सट्टा नरकटियागंजबाट चलाउन माग पनि उठिरहेको छ ।