प्रस, वीरगंज, ७ माघ/
बारा जिल्लास्थित तत्कालीन आदर्श गाविस भवानीपुर–जीतपुर हाल जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत विनियोजित रकम तथा घरभाडाबापतको रकम दाखिला नगरी हिनामिना गरेको मुद्दाका आरोपी तत्कालीन सचिव आसमहमद अन्सारीमाथि अख्तियार दुरुपयोग आयोगले सोमवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

२०६४ सालमा स्थानीयले गाविस सचिव अन्सारीविरुद्ध दिएको मुद्दामा अख्तियारले आज १७ वर्षपछि निजविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सचिव अन्सारीले तत्कालीन गाविसबाट विनियोजन भएको रकम हिनामिना गर्नुका साथै घरभाडामा दिंदा धरौटीको रकम बैंक दाखिला नगरेको आरोप लगाउँदै स्थानीयले २०६४ सालमा मुद्दा दायर गरेका थिए ।

१७ वर्षअगाडि उजूरी दर्ता भएको यो मुद्दामा अहिले भर्खर छानबीन सकेर अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । साबिक आदर्श गाविस भवानीपुर–जीतपुर हाल जीतपुरसिमरा उपमहानगरपालिकाको स्वामित्वमा रहेको गुदरीबजार र मीनाबजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा सोबापतको धरौटी रकमसँगै सम्बन्धित कागजातहरू लुकाइ बुझबुझारथसमेत नगरेको र १२१ जना उपभोक्ताबाट अन्सारीले धरौटीबापतको रु ३८ लाख ३० हजार ५९९ हिनामिना गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्यिारका प्रवक्ता नरहरि घिमिरेले बताए । बिगोसहित ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१)को देहाय (६) बमोजिम कैद सजाय गर्न अख्तियारको मागदाबी रहेको उनले बताए । सचिव अन्सारी अहिले अवकाश जीवन बिताइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here