धर्मेन्द्र चौरसिया, पोखरिया, ३ माघ । 
वीरगंज महानगरपालिकाले सफाइमा फड्को मारेको छ। महानगर भएको आठ वर्ष हुन लागेको वीरगंजमा पछिल्लो चार वर्षदेखि सरसफाइमा गरिरहेको कामले प्रशंसा बटुलिरहेको छ। महानगरमा फोहोर व्यवस्थापनका लागि एशियाली विकास बैंकको सहयोगमा मझौला शहर एकीकृत वातावरणीय सुधार योजना सञ्चालनमा छ। यसका साथै ‘सफा नेपाल एप’ सञ्चालनमा आएपछि अहिले वीरगंज महानगर सफाइमा अग्रपङ्क्तिमा देखिएको हो। फोहर व्यवस्थापनमा महानगरले २०२१ नोभेम्बर १९ देखि सफा नेपाल एप सञ्चालनमा ल्याएको हो। यो एप अन्तर्गत महानगरवासीले आफूवरिपरि देखिएका फोहरका बारेमा जानकारी गराउने र सफा नेपालले सोको सूचना महानगरपालिकालाई गराउने र फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने कार्य भइरहेको छ र यसले पनि महानगरको सफाइमा ठूलो योगदान पु–याउँदै आएको छ। सफा एपमार्फत महानगरवासीले मोबाइलमार्फत सेवा पाउँदै आएको र यसमा खासगरी गृहिणीहरूको सहयोग देखिएको छ। गृहिणीले छत आदिबाट सडक फूटपाथमा देख्ने फोहरबारे सफा नेपाल एपमा गुनासो पोख्ने र त्यहाँबाट फोहर सङ्कलनमा सघाउ पुग्दै आएको छ। 
वीरगंज महानगरपालिका–११ श्रीपुर निवासी सीमा कुर्मीले आफ्नो घरअगाडि हुने फोहरलाई सफा एपमा जानकारी गराएको र त्यसबाट फोहर सङ्कलनमा तदारूकता देखिएको बताइन्। उनले सडक फूटपाथमा अन्य गृहिणीहरूले जथाभावी फोहर फाल्दा आफूले सचेत गराएको र सो फोहर सम्बन्धमा एपमार्फत जानकारी गराउँदा महानगरका कर्मचारीले समयमा आएर सफा गर्ने गरेको बताइन्। उनले सूचनाबाट पनि फोहर सङ्कलनमा सघाउ पुगेको बताइन्। 
वीरगंज महानगर–४ भगवती टोल निवासी अम्बिका नेपालले पनि एपको माध्यमबाट फोहर सङ्कलनमा सघाउ पुगेको बताइन्। उनले घरअगाडि हुने फोहरको बारेमा एपमा सूचना प्रवाह गर्ने गरेको र त्यसबाट सफाइ कर्मचारीहरू आएर सफा गर्दै आएकामा खुशी व्यक्त गरिन्। 
सफा नेपाल एपले महानगरमा सञ्चालित ४८ वटै ट्याक्टरमा जिपिएस प्रणाली जडान गरेको छ र यो एपमा आउने गुनासोलाई सो प्रणालीमार्फत थाहा भएर ट्याक्टरहरू फोहर रहेका स्थलमा पुगेर फोहर सङ्कलन गर्ने कार्य तदारूकताका साथ गर्दै आएका छन्। 
सफा एपमा अहिलेसम्म एक हजार ९९४ वटा गुनासाहरू आएको र त्यसमध्ये १९८२ वटा गुनासाको सुनवाइ भएको र बाFकी १२ वटाको सुनवाइ हुने काम जारी रहेको बताइएको छ।
मधेस प्रदेशको एकमात्र महानगरमा ३२ वटा वडा छन् र साबिकका १६ वटा वडा सफाइमा अहिले उत्कृष्ट देखिन्छन्। नयाँ थपिएका १६ वटा वडामा पनि बिस्तारै सफाइ कार्यले गति लिइरहेको छ।
वीरगंज महानगरमा विगत सात वर्षदेखि सफाइको काम समुदाय साझेदारी कार्यक्रम (पिपिपी) अन्तर्गत चितवनको एके इन्टरनेशनल प्रालिले गर्दै आएको छ। पछिल्लो समयमा एके इन्टरनेशनलसँग महानगरले वार्षिक १२ करोडमा सफाइ कार्यको सम्झौता गरेको छ। 
भदौ ११ गतेदेखि पाँच वर्षको लागि यो सफाइ काम पिपिपी अन्तर्गत भइरहेको छ। महानगरले सफाइमा पिपिपी अन्तर्गत सफलता हासिल गरेपछि अहिले वडास्तरबाट खटनपटन हुने सफाइ कर्मचारीहरू पनि साझेदार कम्पनी एके इन्टरनेशनलमार्फत गराउँदै आएको छ। महानगरको सरसफाइ महाशाखाले अहिले सरकारी कार्यालयहरूको सफाइका लागि मात्र ४६ जना कर्मचारी आप्mनो अधीनमा राखेको छ र ९६ जना कर्मचारी साझेदार कर्मचारीलाई सुम्पेको छ। चार वर्षदेखि महानगरमा सफाइ बिहान, दिउँसो र बेलुका अबेर राति १ बजेसम्म तीन समय गरिंदै आएको छ। फोहर व्यवस्थापनको लागि महानगरले यस अघि वार्षिक २२ करोड खर्च गर्दै आएको थियो। साझेदारमार्फत सफाइ काम शुरू भएयता वार्षिक १२ करोड मात्र खर्च भइरहेको छ।
 
साझेदार कम्पनीले अहिले ४८ वटा ट्याक्टर, चारवटा जेसिबी, चारवटा जेटिङ मेशीन (सानो/ठूलो), दुईवटा सक्सन मेशीनबाट भूमिगत नालाको सफाइ गर्ने र त्यसबाट सङ्कलित फोहरहरू तथा नियमितरूपमा सङ्कलित फोहर व्यवस्थापन केन्द्रमा पठाउने गर्दै आएको छ। 
महानगरको सरसफाइ महाशाखा प्रमुख सर्फुद्दीन मियाँ दैनिक ६८ मेट्रिक टन फोहर सङ्कलन हुने गरेको बताउँछन् भने साझेदार कम्पनी एके इन्टरनेशनलका सञ्चालक शिवजी गुप्ता दैनिक ८० मेट्रिक टनसम्म फोहर सङ्कलन हुने गरेको बताउँछन्। फोहर व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी वहन गर्दै आएका उनले फोहर व्यवस्थापन केन्द्रमा नियमितरूपमा तौल हुँदा ८० मेटन फोहर सङ्कलन हुने गरेको र अहिलेसम्म महानगरपालिकाले त्यसबापत मासिक साढे २५ लाख रुपैयाँ भुक्तान दिने गरेको बताउँछन्। 
फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको साढे तीन वर्ष भयो। एक वर्ष ठेकेदार कम्पनीले आफैं सञ्चालन गरेको र त्यसपछि महानगरलाई सुम्पेको थियो। अहिले महानगरले फोहरबाट मोहर 
(पैसा) कमाउन सकेको छैन। फोहर प्रशोधन केन्द्रमा आउने फोहरबाट कम्पोस्ट मल बनाउने गरेको र त्यसलाई आवश्यकता भएका व्यक्तिलाई निश्शुल्क उपलब्ध गराउने गरेको साझेदार कम्पनीका गुप्ता बताउँछन्। अबको केही वर्षमा फोहर व्यवस्थापन केन्द्र पूर्णरूपमा सञ्चालन भएपछि महानगरले फोहरबाट  मोहर बनाउन सक्ने उनको भनाइ छ।  
महानगरले जथाभावी फोहोर फाल्ने व्यक्तिदेखि सङ्घसस्थाहरूलाई जरिवाना गर्न थालेपछि थप सुधार भएको देखिन्छ। यस अघि पनि पूर्वनगरप्रमुख विजयकुमार सरावगीको बखतमा दण्ड जरिवानाको व्यवस्था थियो तर प्रभावकारीरूपले लागू नहुँदा मानिसहरूले जथाभावी फोहर गर्दै आएका थिए। वर्तमान नगरप्रमुख राजेशमान सिंहले २०७९/९/१६ देखि सात महीनामा १५ लाख ३६ हजार ७०५ रुपैयाँ जथाभावी फोहर गर्नेलाई जरिवाना गरेर सङ्कलन गरेका थिए। यो क्रम अहिले बढ्दो छ। गत सात महीनामा ५९१ जनालाई जरिवाना गरिएको थियो भने आव २०८०/८१ मा ६०९ जनालाई जरिवाना गरेर १९ लाख ३५ हजार ३०० राजस्व सङ्कलन गरेको थियो। 
यसैगरी, चालू आवको पाँच महीनामा १८४ जनालाई जरिवाना गरेर छ लाख ४१ हजार १०० राजस्व सङ्कलन भएको छ। जरिवाना गरेको कारण पनि महानगरवासीले जथाभावी फोहर गर्ने कार्य छाडेका छन्। महानगरले सात वर्ष अघिदेखि फोहर व्यवस्थापनको लागि प्रत्येक वडामा घरपिच्छे कुहिने र नकुहिने दुई थरीका डस्टबिन वितरण गर्दै आएको थियो। यो सुविधा अहिले पनि छ तर सशुल्क। 
नगरप्रमुख सिंहले आफ्नो एउटै उद्देश्य सफा र हराभरा वीरगंज बनाउनु रहेको बताउँछन्। उनले शुरूदेखि आफ्नो ध्यान फोहर व्यवस्थापनमा केन्द्रित भएकोले अहिलेको अवस्थामा आइपुगेको बताए। उनले पुराना वडाहरूमा सफाइ काम प्रभावकारी देखिए पनि नयाँ थपिएका वडाहरूमा सोअनुरूपको कार्य अझै गर्न नसकेको स्वीकार्छन्। उनले नयाँ वडाहरूलाई पनि व्यवस्थित गर्ने काम भइरहेको र यससँगै महानगरमा स्कूलबसबाट हुने फोहर व्यवस्थापनको लागि पनि आफूले नयाँ योजना ल्याउन लागेको बताए। स्कूलबसमा हिंड्ने विद्यार्थीहरूले चकलेटको खोल, फास्टफूड र काम नलाग्ने कागजहरू जथाभावी सडकमा फाल्ने गरेकाले उनीहरूलाई बसमा यात्रा गर्दाको अवधिमा खल्तीभित्र फोहर राख्ने र बसभित्रै तोकिएको स्थानमा फोहर फाल्न सचेत गराउने योजना अगाडि सारेको बताए। 
नगर सफा भएकै कारण लामखुट्टे पनि कम भएको उनको बुझाइ छ। नगरप्रमुख सिंहले सरसफाइसम्बन्धी छुट्टै कानून बनाउन लागेको बताएका छन्। उनले घरायसी फोहर सङ्कलन गरेबापत महानगरले शुल्क लिने गरी ठेक्का लगाउने बताए। यस अघि शुल्क लिने कार्य सात वर्ष अगाडि नै प्रयोगमा आएको तर प्रभावकारी नभएकोले अहिले ठेक्काबाट घरायसी फोहरबापतको शुल्क लिने तयारी भएको उनले बताए। महानगरले पछिल्लो समयमा साधारण र मेडिकल दुई थरीका फोहर सङ्कलन गर्दै आएको छ। यस अघि दुवै फोहर एकै प्रकृतिबाट सङ्कलन गरिन्थ्यो। महानगरमा अस्पताल, क्लिनिक, पोलिक्लिनिकहरू वृद्धि हुँदै गएपछि सोबाट निस्किने फोहरहरू छुट्टै सङ्कलन गर्ने र त्यसको व्यवस्थापन पनि छुट्टै किसिमबाट गर्दै आएको छ। 
वीरगंज महानगरको सफाइ अभियान यस प्रकारले सञ्चालन हुँदा सफाइ कार्यले सफलता पाएको देखिन्छ भने त्यही जीतपुरसिमरा उपमहानगरपालिका र मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकाको सफाइ कार्य चुस्तदुरुस्त देखिंदैन। जीतपुरसिमरा उमनपाले हेटौंडास्थित ग्रीन एन्ड क्लिन संस्थामार्फत सफाइ कार्य गराउँदै आएको छ। तर यो उपमहानगरपालिका अन्तर्गतका २४ वटामध्ये राजमार्गमा रहेका १२ वटा वडामा मात्र केन्द्रित छ। वडा नं १, ४, ७, ९, १०, १२, १४, १५, १६, १७, २१ र २२ गरी १२ वटा वडामा ग्रीन एन्ड क्लिन संस्थाले सफाइ कार्य गर्दै आएको छ भने बाँकी वडाहरूको सफाइ कार्य भगवानभरोसे देखिन्छ। वडाहरूमा सफाइ कर्मचारीहरू दिइएको छैन। फोहर सङ्कलन गर्ने ट्याक्टरहरूको कुरै भएन। 
उपमहानगरपालिका अन्तर्गत ४० जना कर्मचारी मात्र सफाइ कार्यमा खट्दै आएका छन् र उनीहरूले राजमार्गको सफाइ मात्र गर्छन्। यो उपमहानगरपालिकाले सफाइ कार्यमा वार्षिक एक करोड मात्र खर्च गर्दै आएको छ। जीतपुरसिमरा उमनपाबाट दैनिक छ मेट्रिक टन फोहर सङ्कलन हुन्छ र त्यहाँ सङ्कलित फोहर वीरगंज महानगरपालिकाको फोहर प्रशोधन केन्द्रमा विसर्जन गर्छ। महानगरले जीतपुरसिमरा उमनपासँग प्रतिमेट्रिक टन एक हजार ८१५ रुपैयाँ शुल्क लिने गर्छ। 
जीतपुरसिमरामा चारवटा ट्याक्टर, दुईवटा मिनीट्रक र दुईवटा टिपरबाट फोहर सङ्कलन गर्ने गरिएको सफाइ अधिकृत इन्जिनीयर पुष्पा सिंह बताउँछिन्। उमनपाले फोहर सङ्कलन गरेबापत नागरिकहरूसँग शुल्क लिने गरेको छैन भने जथाभावी फोहर गर्नेसँग पनि जरिवाना नलिएको उनी बताउँछिन्। 
जीतपुरसिमरा उमनपाले फोहरमैला व्यवस्थापन कार्यविधि २०७९/१२/७ मा पारित गरेको छ तर अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन। मधेस प्रदेशको राजधानी जनकपुरको अवस्था पनि जीतपुरभन्दा थोरै मात्र सुधारोन्मुख देखिन्छ फोहरको मामिलामा। यो उमनपामा १५० जना सरसफाइ कर्मचारी छन्। २३ वटा ट्याक्टर छन्, दुईवटा जेसिबी, एउटा सिभरजेट, दुईवटा सक्शन, दुईवटा म्याजिक भ्यान रहेको सरसफाइ प्रमुख श्याम ठाकुर बताउँछन्। २५ वटा वडा रहेको यो उपमहानरपालिकामा १ देखि १६ नं वडासम्म दैनिक बिहान र बेलुका सफाइ गरिन्छ भने १७ देखि २५ वडामा आलोपालो गरिन्छ। 
जनकपुर उपमहानगरपालिकमा पनि फोहर विसर्जनको लागि व्यवस्थापन केन्द्र निर्माण भइसकेको छैन। वडा नं १७ मा माटो खनेर तीन ठाउँमा फोहर विसर्जन गरिन्छ र माटोले पुरिन्छ। यो उपमहानगरपालिकाबाट दैनिक ४० मेट्रिक टन फोहर निस्किन्छ। 
प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी उपमहानगरपालिकामा फोहर सङ्कलन तथा व्यवस्थापन प्रभावकारी नरहेको स्वीकार्छन्। उनले पिपिपी मोडेलमा जाने तयारीमा रहेको बताए। स्वच्छ, सफा, हरित नगरको परिकल्पनाअनुरूप काम गर्ने लक्ष्य भएपनि सफाइको मामिलामा सोअनुरूपको कार्य हुन नसकेको उनको भनाइ छ। डम्पिङ साइट नभएर फोहर विसर्जनमा समस्या भएको, गुठीको जग्गा फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि नपाएको र यसमा राजनीतिक सहयोग नभएको उनी बताउँछन्। जनकपुर उपमहानगरपालिकाले फोहर सङ्कलनमा वार्षिक पाँच करोड खर्च गर्दै आएको छ। यो नगरपालिकाले पनि फोहरसम्बन्धी छुट्टै कानून बनाउन सकेको छैन। फोहर सङ्कलन गरेबापत होटलहरूसँग तीनदेखि १० हजार र मेडिकल फोहरबापत पनि  सोहीअनुरूप शुल्क लिने गरेको छ। जनकपुरको ग्रीन एन्ड क्लिन राजधानीका अभियन्ता एवं प्रदेशसभा सदस्य रामाशिष यादव जनचेतनाको कमी र राज्य जिम्मेवार नभएको कारण सफाइ प्रभावकारी नभएको बताउँछन्। उनले जनकपुर प्रदेशको राजधानी हुनु अघि फोहरको मामिलामा झनै खराब अवस्थामा रहेको र अहिले राजधानी भएपछि पनि फोहर सङ्कलन सन्तोषजनक नभएको बताउँछन्। 
काव्य अस्पतालका सञ्चालक डा एसके सिंह अहिलेसम्म घरायसी र मेडिकल दुवै थरीका फोहर एकै ठाउँमा सङ्कलन हुँदै आएको बताउँछन्। फोहरबारेमा विभिन्न चरणमा बैठक बसे पनि घरायसी र मेडिकल फोहर अलगअलग तरीकाबाट विसर्जन गर्ने विषयमा ठोस निर्णय हुन नसकेको उनी बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here