प्रस, वीरगंज, २८ पुस/
माघी मूल समारोह समिति, वीरगंजले आइतवार पत्रकार सम्मेलन गरी वीरगंज–१० आदर्शनगरस्थित स्वीमिङपुलमा यसपटकको माघी महोत्सव मनाउने जानकारी गराएको छ ।

समितिका संयोजक प्रवीण चौधरीले थारू छात्रावास वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा आदिवासी थारू समुदायको माघी पर्व तथा नयाँ वर्ष २६३९ स्वीमिङपुलमा कार्यक्रमको आयोजना गरी मनाउने बताए ।

यस अघि आदर्शनगर रङ्गशाला र पुरानो बसपार्कमा माघी महोत्सव हुँदै आएको थियो । यसपटक माघ १ गते घण्टाघरबाट स्वीमिङपुलसम्म प्रभातफेरी आयोजना गर्ने र सो प्रभातफेरीमा थारू संस्कृति झल्किने, घाटो, सामाचकेवा, झम्टा, गीत, नृत्य प्रदर्शन गरिने बताए । यसैगरी, महोत्सवमा थारू समुदायका विशेष परिकार घोङी, गङ्गटो, माछा, परेवा, कुखुरा, चिचर, भुजा, तिल आदिका परिकारको स्टल रहने जानकारी गराए ।

यसैगरी, पावरहाउसबाट मोटरसाइकल -याली निकालेर नगरपरिक्रमा गरिने र घण्टाघरमा साँझ दीप प्रज्वलन गरिने बताए ।

महोत्सवमा राज्यमा आदिवासी थारू समुदायको राजनीतिक, सांस्कृतिक, सामाजिक पहिचान, राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वसहितको हकअधिकारको लागि साङ्केतिक र सांस्कृतिकरूपमा माग गरिने संयोजक चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here