प्रस, वीरगंज, २७ पुस/
भौतिकवादी समाज नेपाल सर्लाही जिल्ला समिति सदस्य खेम विश्वकर्माका पिता विष्णुलाल सुन्चौरीको ७२ वर्षको उमेरमा भएको निधनमा भौतिकवादी समाज नेपालको अगुवाइमा धार्मिक विधिबाट हुँदै आएको कर्मकाण्डविपरीत वृक्षारोपण गरी सम्पन्न गरिएको छ।
सो अवसरमा केन्द्रीय अध्यक्ष बैधनाथ श्रमजीवीले मानिस जन्मिने र मर्ने क्रम चलिरहने बताए। उनले यो प्रकृतिको नियम भएकोले यसलाई अनौठो नमान्न सुझाए। जन्म र मृत्युको क्रममा गरिने धार्मिक कर्मकाण्डका कुराहरू पाखण्ड भएको उनले दलील पेश गरे। केही व्यक्तिहरूले आफ्नो जीविकोपार्जनका लागि अहिलेसम्म धर्मको नाममा जन्म, मृत्युलगायतका कार्यहरू गराउँदै आएकाले अहिलेको भौतिकवादी समाजले त्यसलाई अङ्गीकार नगर्ने बताए।
महोत्तरी जिल्ला अध्यक्ष उपेन्द्र भगतको अध्यक्षतामा भएको कार्यक्रममा रोशनपुरी जनकपुरी, विनोद काफ्ले, शिवकुमार महरा, उपेन्द्र भगत, गङ्गा सापकोटा, भीमकुमार राउत, शङ्कर महतो, बृद्धमाया कोइराला, जयप्रकाश साह, हीरादेवी दास, महादीप पोखरेल, सरोज विश्वकर्मा, विश्वभक्त दुलाल आहुतिलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण जीवन साह शङ्करले गरेका थिए।