प्रस, वीरगंज, २५ पुस/
पर्सा जिल्लाका दलितहरूलाई अहिले चीसो मौसममा गाँस, बास र कपासको समस्याले पिरोलिरहेको छ ।

दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएको यो समुदायले जाडोमा काम नपाएको र काम गर्ने वातावरण पनि नभएकोले दैनिक गुजारामा समस्या भएको हो ।

पर्सा जिल्लाको कुल जनसङ्ख्याको ३० प्रतिशत दलित रहेको पिस फर दलित्स फाउन्डेशन नेपालका अध्यक्ष्F मनोज रामले बताए । उनले पर्सा जिल्लाका वीरगंज महानगर, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी, विन्ध्यवासिनी, जीराभवानी गाउँपालिकामा दलितहरूको सङ्ख्या बढी रहेको र त्यसबाहेक १४ वटै पालिकामा दलित बस्ती भएको बताए । उनले चीसोमा दलितहरूले गाँस, बास र कपासको समस्या झेलिरहेको बताए ।

सरकारले जनता आवास कार्यक्रम अन्तर्गत गरीब विपन्नहरूलाई पक्की भवन निर्माण योजना अघि सारे पनि केही दलितहरूको पहुँचमा कार्यक्रम परेको तर उनीहरूको घर अहिलेसम्म पूर्णरूपमा निर्माण सम्पन्न हुन नसकेको अध्यक्ष रामले बताए । जनता आवास कार्यक्रममा पर्न नसकेका ९५ प्रतिशत दलितहरूको घर फुसको छ । दलितहरू जाडोमा चीसो लाग्ने र वर्षायाममा घरभित्र पानी पस्ने समस्या झेल्दै आएका छन् ।

अहिले कठ्याङ्ग्रिदो जाडोमा कतिपय दलितहरूको फुसको घरमा ढोका पनि नभएको कारण चीसो हावा झेल्दै सुत्नुपरेको उनले बताए । धेरैजसो दलितसँग न्यानो कपडा पनि नभएको र उनीहरूलाई विपद्बाट जोगाउन पालिकाहरूले प्रभावकारी काम नगरेको अध्यक्ष्F रामले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिबाट पनि दलितलक्षित कार्यक्रमहरू नभएको उनले गुनासो पोखे । स्थानीय पालिकाहरू र विपद् व्यवस्थापन समितिले दलितहरूको अवस्था आकलन गरेर उनीहरूलाई गाँस, बास, कपासको व्यवस्था गराइ जीवनयापनमा सहयोगी भूमिका निर्वाह गर्न उनले सुझाव दिएका छन् ।

पिस फर दलित्स फाउन्डेशनले विदेशमा बसेका दाताहरूको सहयोगमा पर्सा जिल्लाका पाँच स्थानमा दलित बालबालिकाहरूलाई निश्शुल्क ट्युशनको व्यवस्था गर्दै आएको छ ।

शिक्षामा पहुँच बढोस् भन्ने उद्देश्यले निश्शुल्क ट्युशन प्रभावकारी भएपनि वर्षा र चीसोमा परिवारका अभिभावकसँगै उनीहरूले पनि समस्या झेल्नुपर्दा ट्युशनमा उपस्थिति कम हुने गरेको अध्यक्ष रामले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here