धर्मेन्द्र चौरसिया, पोखरिया, २५ पुस/
जीराभवानी गाउँपालिका–१ स्थित नेरामावि, कटकुइया वसन्तपुरमा अध्ययनरत बालविकासदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूलाई कक्षाकोठाको व्यवस्थापन गरिएको छ ।
चीसोमा पनि उनीहरू भुइँमा बसेर अध्ययन गर्दै आएका थिए । ४९ वर्ष पुरानो यो विद्यालय आगामी वर्ष ५० वर्ष पूरा गरी स्वर्णजयन्ती मनाउने तयारीमा रहेको यो विद्यालयमा शुरूका दिनमा बालविकासदेखि कक्षा ४ सम्मका विद्यार्थीका लागि भवन अभावले रूखमुनि राखेर अध्यापन गराइन्थ्यो ।
दुई वर्ष अघि गाउँपालिकाले बालविकासदेखि कक्षा ४ सम्मका विद्यार्थीका लागि चार कोठे भवन निर्माण गरे पनि सो भवनमा झ्यालढोका जडान गरिएको थिएन र बेन्च–डेस्क पनि नहुँदा साना विद्यार्थीहरू भुइँमैं बसेर पढ्न बाध्य थिए ।
प्रतीक दैनिकमा यससम्बन्धी समाचार प्रकाशन भएपछि प्रधानाध्यापक कृपासिन्धुप्रसाद पटवारीले बालविकासदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूलाई झ्यालढोका भएको कक्षाकोठामा स्थानान्तरण गरेका छन् ।
विद्यालयले बालविकासदेखि कक्षा ४ सम्मको लागि बेन्च, डेस्क बनाए पनि सोहीमा अहिले ठूला कक्षाका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ । उनले चीसोमा बालविकासदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूलाई मर्का नहोस् भनेर ठूलो कक्षामा स्थानान्तरण गरिएको र झ्यालढोका नभएको कक्षामा सोको लागि गापाको ध्यानाकर्षण गराएको बताए ।