प्रस, निजगढ, २५ पुस/
कोल्हवी नगरपालिकाको बकैया खोलामा ठेकेदारद्वारा गरिएको नदीजन्य पदार्थ उत्खनन कार्यको स्थलगत अनुगमन बुधवार गरिएको थियो ।
जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साह नेतृत्वको टोलीले खोलाको अनुगमन गर्दै मापदण्डविपरीत खोलाको उत्खनन नगर्न र नदीजन्य पदार्थ ओसारपोसार, बिक्री वितरण नगर्न ठेकेदार कम्पनीका प्रतिनिधिलाई आग्रह गरेको छ । “वातावरणीय परीक्षण प्रतिवेदनमा तोकिएको मापदण्डभित्र रही ठेकेदार कम्पनीलाई कार्य गर्न हामीले प्रस्ट भनेका छौ,” जिसस प्रमुख साहले भने ।
कोल्हवीस्थित बकैया खोलाका विभिन्न भागमा मापदण्डभन्दा गहिरो जथाभावी खाडल बनाउँदै नदीजन्य पदार्थ उत्खनन गरिएको देखिएको जिसस, बाराका समन्वय अधिकारी आमोद चौधरीले बताए । ठेकेदार कम्पनीका प्रतिनिधिलाई सोध्दा निजगढका मजदूरहरूले जथाभावी खोला खन्दै ट्याक्टरमा नदीजन्य पदार्थ लिएर जाने गरेको बताएको उनले भने । ठेकेदारले मापदण्डमा तोकिएकोभन्दा केही फराकिलो हुनेगरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्ने गरेको पाइएको सोही अनुुगमनमा रहेका अर्का सदस्यले बताए ।
दैनिक तीन सय घनमिटर अर्थात् बढीमा १० चक्के टिपरको २८ टिपभन्दा बढी एउटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन, ओसारपोसर गर्न नपाइने प्रतिवेदनमा उल्लेख छ । तर यहाँ दैनिक दुुई सय टिपभन्दा बढी खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दै ओसारपोसार, बिक्री वितरण भइरहेको छ । मापदण्डभित्र रही उत्खनन गरिएका नदीजन्य पदार्थ घाटगड्डीमा सङ्कलन गर्नुपर्ने स्पष्ट मापदण्डमा भनिए पनि खोलाबाट नै बिक्री वितरण गर्ने गरेकोले ठेकेदार कम्पनीले दैनिक राख्ने रेकर्डसमेत विश्वसनीय नदेखिएको अनुगमन टोलीका अर्को एक सदस्यले बताए ।
बकैया खोला ठेक्का सकार गर्ने कोल्हवी नपा र निजगढ नपाका ठेकेदारबीच नदीजन्य पदार्थ ओसारपोसार गर्न वन क्षेत्र भएर जाने बाटोको विषयमा समेत दुवै ठेकेदार पक्षबीच मनमुटाव हुँदै आइरहेको छ ।
नगरपालिकाले ठेक्का लगाएको परिमाण ठेकेदार कम्पनीले खोलाबाट उत्खनन गरी लगेपछि खोलामा उत्खनन कार्य बन्द गर्ने स्पष्ट कानूनी प्रावधान छ भने, उक्त परिमाण लैजान बाँकी रहे जेठ मसान्तपछि खोलामा उत्खनन गर्न पाइनेछैन ।
खोला अनुुगमन टोलीमा कोल्हवी नपाका प्रमुख रामप्रसाद चौधरी, प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुुइँटेल, जिल्ला समन्वय समिति बाराका समन्वय अधिकारी आमोद चौधरी, इन्जिनीयर गणेश चौधरी, कोल्हवी सबडिभिजन वन कार्यालयका प्रमुुख कृष्णप्रसाद पटेललगायत सहभागी थिए ।