प्रस, परवानीपुर, २५ पुस/
मधेस प्रदेशमा जारी जय ट्रफी अन्तर्गत नेपाल पुलिस क्लबले पहिलो जीत निकालेको छ । वीरगंजको नारायणी क्रिकेट मैदानमा हिजोदेखि भएको दुई दिवसीय मिनी टेस्ट क्रिकेट लिग म्याचमा मधेस प्रदेशलाई ३५ रनले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले पहिलो पारीमा १२९ र दोस्रो पारीमा ९४ रन मात्र बनाएको थियो । जबकि नेपाल पुलिस क्लबले पहिलो पारीमैं चार विकेटको क्षतिमा ५९ ओभरमा २५८ रन बनाएको थियो ।

पुलिसको एउटै पारीको लक्ष्य मधेस प्रदेशले दुई पारीमा भेट्टाउन नसक्दा पराजित भएको हो । मधेस प्रदेशको पहिलो पारीको ब्याटिङमा मयन यादवले मात्र ५९ रन बनाएका थिए भने दोस्रो पारीमा कुनै पनि खेलाडीले ३० रन जोड्न सकेनन् ।

नेपाल पुलिसका गुलशन झाले पहिलो पारीमा पाँच विकेट र दोस्रो पारीमा कुशल भुर्तेलले चार, गुलशनले तीन, ललित राजवंशीले दुई विकेट लिंदा मधेस प्रदेशको दोस्रो पारी ३२.२ ओभर खेल्दै ९४ रनको योगफलमा अलआउट भएको थियो ।

हिजोदेखि जनकपुर खेलमैदानमा भइरहेको खेल ड्र भएको छ । टस हारी त्रिभुवन आर्मी क्लबले पहिलो पारीमा ६० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २७६ रन बनाएको थियो भने दोस्रो पारीमा २८.२ ओभरमा आठ विकेटको क्षतिमा पारी समाप्तको घोषणा गर्दै १२७ रन बनाएको थियो ।

२०४ रनको लक्ष्य लिएर बाग्मतीले २८.५ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ८० रन बनाएपछि खेल समाप्त भएको थियो । उक्त खेलको दोस्रो पारीमा बाग्मतीका नन्दन यादवले चार, प्रतीश जिसीले तीन र रिजन ढकालले एक विकेट लिएका थिए भने बाग्मतीको दोस्रो पारीमा आर्मीका आकाश चन्दले दुई, पवन कार्कीले दुई, कुशल मल्लले एक विकेट लिएका थिए । बाग्मतीको दोस्रो पारीमा शुभ कंसाकारले ३३ रनको योगदान गरेका थिए ।

यसैसँग जय ट्रफीको अङ्कतालिकामा नेपाल पुलिस क्लब ४० अङ्कसहित प्रथम, त्रिभुवन आर्मी ३० अङ्कका साथ द्वितीय, बाग्मती प्रदेश २८ अङ्कका साथ तृतीय र मधेस प्रदेश २१ अङ्कका साथ चौथो स्थानमा छ । अब वीरगंज र जनकपुरमा एक/एक लिग म्याच बाँकी छ । उक्त दुई दिवसीय लिग खेल जनवरी ११ तारिखका दिन बिहान ११ः३० बजेदेखि दुवै स्थानमा हुनेछ । त्यसपछि जनवरी १४ देखि अङ्कतालिकाका दुई उत्कृष्ट टीमबीच वीरगंजमा फाइनल खेल खेलाइने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here