बर्लिन, २३ पुस/एएफपी
गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७.४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमवार देखाएको छ ।
समग्रमा सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २.८ लाख नयाँ विद्युतीय कार दर्ता भएका थिए । यो अघिल्लो वर्षको तुलनामा एक प्रतिशतले कम भएको केबिए सङ्घीय यातायात प्राधिकरणले जनाएको छ ।
तीमध्ये केवल तीन लाख ८० हजार ६०९ विद्युतीय कार थिए, जुन १३.५ प्रतिशतको बजार हिस्सा बराबर छ ।
इवाई विश्लेषक कन्स्टान्टिन गलले भने–“सन् २०२३ को अन्त्यमा सरकारी अनुदान फिर्ता लिएपछि जर्मनीमा विद्युतीय कारहरूको माग सुस्त भएको छ । नयाँ इभी मोडलहरूको उच्च मूल्य, कमजोर चार्जिङ पूर्वाधार र दायरा सीमितताले पनि धेरै उपभोक्तालाई विद्युतीय कार छनोट गर्न निरुत्साहित गरेको छ ।”
विद्युतीय कारहरूको घट्दो बिक्रीले जर्मनीको फराकिलो अटो उद्योगले सामना गर्ने चुनौतीहरूलाई रेखाङ्कित गर्छ ।
यस क्षेत्रले कमजोर माग र विद्युतीय सवारीसाधन समस्यासँग सङ्घर्ष गरिरहेको छ । निर्माता र आपूर्तिकर्ताहरूले गत वर्ष धेरै रोजगार कटौतीको घोषणा गरेका थिए ।
फेबु्रअरी २३ गते हुने निर्वाचन अघि अटो उद्योगको सङ्कट राजनीतिक मुद्दा बनेको छ । केही आलोचकहरूले जर्मनीको सामान्य आर्थिक मन्दीलाई विद्युतीय सवारीसाधनसँग जोडेको बताएका छन् । यसले विद्युतीय कार निर्माताहरूलाई कमजोर बनाएको छ ।
कार निर्माताहरूले आगामी वर्ष सामान्य वृद्धिभन्दा बढी बिक्रीको आशा गर्न सक्ने अवस्था नरहेको उनले बताएका छन् । रासस