प्रस, जीतपुर, २२ पुस/
जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरू स्तर तथा तह वृद्धिमा ढिलासुस्ती भएको भन्दै गत शुक्रवारदेखि पेन डाउन गरी अनिश्चितकालीन धर्नामा बसेका छन्। मधेस प्रदेशले २०८१ भदौ ७ गते राजपत्रमा प्रकाशित गरी प्रदेशभरिका स्थानीय तहका लागि स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन–२०८१ जारी गरेको थियो। उक्त ऐनको दफा २९ को उपदफा १ बमोजिम योग्यता पुगेका कर्मचारीहरूलाई स्थानीय तहले निर्णय गरी एक तह वृद्धि गर्न सक्ने प्रावधान रहे पनि जीतपुरसिमरा उपमहानगरपालिकाले तह वृद्धिसम्बन्धी नीति–नियम बनाउन ढिलासुस्ती गरेको भन्दै सो उपमहानगरमा कार्यरत कर्मचारीहरूले पेन डाउन गरी अनिश्चिकालीन धर्ना शुरू गरेका हुन्।
सो उपमहानगरपालिकामा २९ जना सहायक पाँचौं र एकजना अधिकृत नवौं तहका गरी ३० जना कर्मचारीले नगरप्रमुख तथा उपप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएर २०८१ पुस १९ गतेदेखि धर्ना शुरू गरेका हुन्।
प्रदेशको ऐन अनुसार हरेक वर्षको पुस र असार महीनामा स्थानीय तहले एक महीनाअगाडि सूचना निकाली कर्मचारीको तह वृद्धि गर्ने प्रावधान छ। सोहीबमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले गत कात्तिक ३० गते तह वृद्धिका लागि आवेदन माग गरी सार्वजनिक सूचना वेबसाइटमा प्रकाशित गरेको थियो। सोही सूचना अनुसार आफूहरूले नगरपालिकामा आवेदन दिएको तर पुस महीना बित्न लाग्दासमेत तह वृद्धिसम्बन्धी कुनै चासो पालिकाले नदेखाएको गुनासो कर्मचारीहरूको छ।
प्रदेशका अधिकांश पालिकाले कर्मचारीहरूको तह वृद्धि गर्दा जीतपुरसिमराले हालसम्म सोसम्बन्धी आवश्यक नीति निर्माण गर्न सकेको छैन, जसका कारण त्यहाँका कर्मचारीहरू प्रदेशका अन्य पालिकाका समान तह र योग्यताका कर्मचारीभन्दा पछि परेका छन्। कर्मचारीहरूले पालिकाले वृत्ति विकासमा अवरोध सृजना गरेको गुनासा गरेका छन्। उनीहरूले नगरप्रमुख तथा उपप्रमुखलाई ज्ञापन दिने क्रममा समस्याको यथाशीघ्र समाधान निकाल्न आग्रह गरेका थिए।