प्रस, निजगढ, २२ पुुस/
बारा कोल्हवी नगरपालिकाको हनुमानगंज, झुरझुरे, भलुवाहीखोर, निकास, सपही, बोधवन, जुगवा, ककडी, पर्सौनालगायतका वन क्षेत्रनजीक र आसपासका एक दर्जनभन्दा बढी मानवबस्ती आतङ्कित गर्ने जङ्गली हात्तीको अवस्था बुझ्न चार दिनदेखि निकुञ्जको टोली सक्रिय छ।
मानवबस्तीमा जङ्गली हात्ती प्रवेश गरी ज्यानै लिन सक्नेगरी आतङ्क मच्चाएपछि स्थानीयहरूले हात्ती नियन्त्रणमा लिएर सुरक्षाको प्रत्याभूति गराउन सांसद अच्युत मैनाली, नगरप्रमुख रामप्रसाद चौधरी, वडाध्यक्ष गोपाल अधिकारी, वडासदस्य दुर्गाबहादुर श्रेष्ठलगायतलाई आग्रह गर्दै आएका छन्। उनीहरूकै पहलमा पर्सा राष्ट्रिय निकुञ्ज मातहतको हात्तीसारबाट दुईवटा पोथी हात्तीसहित छजनाको टोली खटिएको छ। डिभिजन वन कार्यालय, बारा मातहतको कोल्हवी सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णप्रसाद पटेलको समन्वयमा टोली सक्रिय रहँदै आए पनि अहिलेसम्म हात्ती नियन्त्रणमा आउन सकेको छैन।
कोल्हवी आसपासका बस्तीहरूमा आतङ्क मच्चाउने जङ्गली हात्ती यमगज भएको अनुमान गरिएको छ। केही दिन अघि हनुमानगंजमा रातीको समयमा यमगज देखिएको स्थानीयहरूले बताए। उनीहरूले यमगजका दुईवटै दा–हा काटिएको र घाँटीमा बेल्ट बाँधिएको अवस्थामा देखिएको प्रत्यक्षदर्शीहरूले बताए। एक्लै हिंड्न रुचाउने जङ्गली हात्ती यमगजले जिल्लाको उत्तरी भेगको वन क्षेत्र र अमलेखगंज, चकरीलगायतका मानवबस्तीमा केही महीना अघि उत्पात मच्चाउँदै आएको थियो। अहिले सो क्षेत्र यमगजको आतङ्कबाट मुक्त छ र यमगजले नै दक्षिणी भेग कोल्हवीका एक दर्जनभन्दा बढी बस्तीमा आतङ्क मच्चाइरहेको निकुञ्जका कर्मचारीहरूको भनाइ छ।
अमलेखगंज हात्तीसारका सुुब्बा एवं टोली प्रमुख लालबाबू चौधरीले यमगज देखिएको सूचना पाएसँगै सो क्षेत्रमा जाने गरेको तर हात्ती जङ्गल पसिसक्ने भएकोले अहिलेसम्म फेला नपरेको बताए।
कोल्हवी झुरझुरे प्रहरी चौकीदेखि लगभग तीन किलोमिटर पूर्व रौतहटको भैसाहीमा यमगजले दुई दिनदेखि घरभित्र र आँगनमा भण्डारण गरिराखेको धान, मकै, गहुँ, उखु, केरा, आलु, तोरीलगायतका अन्नबाली नष्ट गरेको स्थानीयहरूले बताए। साँझ र राति मानवबस्तीमा यमगजका कारण अहिले स्थानीयहरू त्रसित छन्।
यमगजले बितेको दुई वर्षमा मानवबस्तीमा पाँचजनाको ज्यान लिइसकेको छ।
जीतपुुरसिमरा उपमहानगरपालिका–२१ अमलेगंजकी ५१ वर्षीया रूकैया खातुनलाई दुई वर्ष अघि बस्तीनजीकैको वन क्षेत्रमा घाँस, दाउरा लिन जाने क्रममा यमगजले आक्रमण गरी ज्यान लिएको थियो। यो घटनापछि यमजग नामकरण गरिएको हो।
यमगजको उपद्रो हालका दिनमा बढ्दो छ। घर भत्काउने, आतङ्कित बनाउने, बालीनाली नष्ट गर्ने, मान्छेलाई आक्रमण गर्ने जस्ता गतिविधि बढ्दै गएको देखिन्छ।
वन ऐन कानून समयानुकूल परिमार्जन नहुँदा वनजङ्गल आसपास बस्ने स्थानीय जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका र अन्नबालीमा क्षति पुगेका पीडित परिवारहरूले लामो समयदेखि उचित क्षतिपूर्ति पाएका छैनन्। वन ऐन समयानुकूल परिमार्जन गर्नका लागि आफूले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको ध्यानाकर्षण गराउँदै आएको सांसद अच्युत मैनालीले बताए।
कोल्हवी नगरपालिकाका वडाध्यक्ष गोपाल अधिकारीले विगत ११ वर्षमा १२ जनाको हात्ती आक्रमणबाट ज्यान गएको बताए।
निकुञ्ज विस्तारपछि मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको कोल्हवी नपाका प्रमुख रामप्रसाद चौधरीले बताए। जसले गर्दा मानव र वन्जन्तु दुवै पक्षलाई क्षति हुने गरेको बताउँदै यसको दीर्घकालीन न्यूनीकरणका उपाय अविलम्ब अपनाउनुपर्नेमा उनले जोड दिए।