प्रस, परवानीपुर, २२ पुस/
नेपाल क्रिकेट सङ्घ (क्यान)ले मधेस प्रदेशका वीरगंज र जनकपुरमा आयोजना गरेको जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएका दुई लिग खेल बराबरीमा समाप्त भएको छ । वीरगंजको नारायणी क्रिकेट मैदान र जनकपुरमा आयोजना भएको दुई दिवसीय दुई खेल बराबरीमा टुङ्गिएको हो । यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका उत्कृष्ट चार टीमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत तीन/तीन वटा लिग म्याच वीरगंज र जनकपुरमा आयोजना हुनेछन् । वीरगंजमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच र जनकपुरमा मधेस प्रदेश र बाग्मती प्रदेशबीच भएको पहिलो दुईवटा लिग खेल बराबरीमा सकिएको हो ।
वीरगंजमा भएको खेलमा आज दोस्रो दिन दोस्रो चरणमा पुलिस क्लबले पाँच विकेट गुमाएर ८८ रनमा खोलिरहँदा समय समाप्त भएपछि खेल बराबरी भएको हो । जीतका लागि १७२ रनको लक्ष्य पछ्याएको पुलिस क्लबका ब्याटरहरूले समग्रमा प्रभाव जमाउन नसके पनि तेस्रो नम्बरका अमित श्रेष्ठले ३६ रनको योगदान गर्दै टीमलाई राहत दिए । पुलिसका अन्य ब्याटर दिलीप नाथ नौ, कुशल भुर्तेल पाँच र गुलशन झा एक रन बनाइ आउट भए । विकेटकीपर अर्जुन साउदले ९४ बलमा १९ रन बनाए ।
यस अघि त्रिभुवन आर्मी क्लबले दोस्रो चरणमा १७५ रन बनाएको थियो । आर्मीका सोमपाल कामीले अविजित ८२ रन बनाए । यस प्रतियोगिताको यो पहिलो अर्धशतक हो । आर्मीका बलर साहब आलम र आकाश चन्दले उत्कृष्ट प्रदर्शन गर्दै पुलिसको दोस्रो पारीमा दुई/दुई विकेट लिए । यस्तै, पुलिसका बलर कुशल भुर्तेलले आर्मीको दोस्रो पारीमा चार विकेट झार्दै टीमलाई राम्रो सुरुआत दिलाए ।
पहिलो पारीमा दुवै टोली दबाबमा थिए । पहिलो पारीमा आर्मीले १२१ रन मात्र बनाउन सकेपछि जवाफी ब्याटिङमा पुलिस क्लब पनि १२५ रनमा समेटियो । पहिलो पारीमा पुलिसका गुलशन झाले ४७ रनको आक्रामक पारी खेलेका थिए । आर्मीका साहब आलमले पहिलो पारीमा एक्लैले आठ विकेट झारे । पुलिस क्लबका कप्तान आरिफ शेख हुन् भने त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी हुन् ।
त्यसैगरी, जनकपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले पहिलो पारीमा १०२ र दोस्रो पारीमा नौ विकेटको क्षतिमा २११ रन बनाएर पारी समाप्तिको घोषणा गरेको थियो । त्यसपछि बाग्मतीले आज दोस्रो पारीमा छ विकेटको क्षतिमा ९७ रनमा खेलिराख्दा दोस्रो दिनको समय समाप्त भएकोले खेल बराबरी भएको हो । यस अघि बाग्मतीले पहिलो पारीमा १५० रन बनाएको थियो । मधेस प्रदेशका मयन यादवले दोस्रो पारीमा १०८ बल खेल्दै १२ चौका दुई छक्का प्रहार गरी १०५ रन जोडेर शतक प्रहार गरेका थिए ।
आज दोस्रो दिनको दोस्रो पारीमा मधेस प्रदेशका पाँच महŒवपूर्ण विकेट बाग्मतीका कप्तान सन्दीप लामिछाने हात पारे भने बाग्मतीले दोस्रो पारी खेल्दा मधेसका हरिशङ्कर साहले तीन विकेट लिएका थिए । सन्दीप लामिछानेले पहिलो र दोस्रो पारीमा पाँच/पाँच गरी १० विकेट लिए । त्यसैगरी, नेपाल आर्मीका साहब आलमले पनि पुलिसकोविरुद्ध दुई पारीमा १० विकेट लिए भने पुलिसका ललित राजवंशीले नौ विकेट लिए ।
लिग खेलहरू दुई दिवसीय हुनेछन् भने फाइनल खेल तीन दिवसीय । सेतो जर्सी र रातो बलमा खेलाइएको यो प्रतियोगिताले नेपाली क्रिकेटमा उत्साह थपेको छ ।