प्रस, वीरगंज, २० पुस/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शनिवार नारायणी अस्पतालको निरीक्षण गर्दै त्यहाँको सरसफाइ कार्यप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
अस्पतालको निरीक्षणको क्रममा उनले भित्री पाटो झनै फोहर रहेको र अस्पतालले सरसफाइमा ध्यान दिनुपर्ने सुझाए । महानगरले करीब डेढ वर्ष अघि अस्पतालको बाहिरी पाटोको सरसफाइको जिम्मेवारी लिएको तर अहिलेसम्म अस्पतालले सहमति अनुसार सरसफाइ कर्मचारीको व्यवस्थापन नगर्दा समस्या भएको बताए ।
उनले अस्पतालभित्रको सरसफाइको पाटो निकै कमजोर भएको भन्दै सरसफाइलाई चुस्तदुरुस्त राख्न सुझाएका थिए । अस्पतालको पुरानो भवन महेन्द्र आरोग्य भवनको पछाडि निर्मित नर्सिङ क्वार्टरमा बस्नेहरूले दुईतले भवनबाट फोहरहरू डस्बिनमा राखेर तोकिएको स्थानमा नफालेर सीधैं बाटोमा फाल्ने गरेकाले फोहर बढेको भन्दै यस्तो कार्य गर्नेलाई कारबाही गर्न मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासलाई सुझाएका थिए । मेस डा दासले फोहर हुन नदिनका लागि आवश्यक पहल गर्ने बताए ।
महानगरका सरसफाइ महाशाखा प्रमुख सर्फुद्दीन मियाँले महानगरबाट शुरूका दिनमा नौजना र अहिलेसम्म दैनिक पाँचजना सफाइ कर्मचारी खटाउँदै आएको बताए । अस्पतालको बाहिरी पाटोको सरसफाइमा खासै समस्या नरहेको तर भित्र जथाभावी फोहर रहेको बताए । विभिन्न शाखा र त्यहाँ रहेका शौचालयहरूको सरसफाइ नहुँदा बिरामी, कुरुवाहरूले समस्या भोग्दै आएको बताए ।
कार्यक्रममा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले अस्पतालको सरसफाइ खराब रहेकोले कुरुवाहरू पनि बिरामी पर्ने सम्भावना रहेको बताए ।