प्रस, निजगढ, २० पुस/
प्रथम निजगढ महोत्सव आगामी माघ ११–२२ गतेसम्म सञ्चालन हुुने भएको छ । निजगढ नगर उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा महोत्सवले निजगढलाई राष्ट्रियस्तरमा चिनाउनुका साथै स्थानीयस्तरका कृषि, उद्यम, कला, संस्कृति, पर्यटन, खेलकूदको प्रवद्र्धन गर्ने उद्देश्य रहेको जानकारी गराइएको थियो । स्थानीय व्यापार, व्यवसाय, कृषि, उद्यमका साथै विभिन्न समुदायको खानाको परिकारलाई प्रवद्र्धन गर्न करीब डेढ सय स्टल राखिने महोत्सव आयोजक संस्था निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
महोत्सवमा बालबालिकाहरूका लागि बालउद्यान, राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको साङ्गीतिक कार्यक्रम प्रस्तुत हुने साथै नेवार समुदायको झाँकी लाखे नाच, कौडा मगर नाच, लाठी थारू नाचलगायत नगरभित्रका विभिन्न जातजातिका संस्कृति, भेषभूषा, भाषा झल्किने कला प्रस्तुत गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले स्थानीय कला, संस्कृति र सम्पदा प्रदर्शन गरिने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गर्ने, विश्वको कान्छो चुरे पहाड शृङ्खलामा अवस्थित निजगढ नगरलाई छुट्टै पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।
उनले महोत्सव सम्पन्न गर्न ८० लाखदेखि एक करोड खर्च अनुमान गरिएको बताए । निजगढ नपा–८ खयरघारी बकैयास्थित सार्वजनिक खेल मैदानमा हुने महोत्सवमा अढाई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताए ।