प्रस, वीरगंज, २० पुस/
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साले शनिवार पकाहामैनपुर गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले आज पकाहामैनपुर गापा–३ स्थित रामचरित्र भगवत माध्यमिक विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला, पुरुष तथा बालबालिका गरी पाँच सयजनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर, स्वास्थ्य शिविर पकाहामैनपुर गापा, वीरगंज सामुदायिक आँखा केन्द्र, रोहित फाउन्डेशन/क्वेस्ट फर्मास्युटिकल्सको सहयोगमा सञ्चालन गरेको शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखासम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।
गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताको सुस्वास्थ्यको लागि शिविर आयोजना गरेर सराहनीय काम गरेको बताए ।
शिविरमा डा रविशङ्कर साह, डा लक्ष्मी थापा, डा अरविन्द साह, नेत्र अधिकृत महेशसिंह धामीसहित सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीले प्राविधिक सहयोग पु-याएका थिए । कार्यक्रममा गापाध्यक्ष सुरेशप्रसाद मेहता, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, गापा उपाध्यक्ष सरफुन नेशालगायतको सहभागिता थियो ।