बैतडी, २० पुस/रासस
प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जीत निकालेको छ । प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जीत निकाल्ने क्रममा डोटीलाई २४ रनले पराजित गरेको हो ।
दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको अछामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १३५ रन बनायो । अछामका रविना साउदले अर्धशतकीय पारी खेल्दै अविजित ५२ रन जोडिन् । जारी प्रतियोगितामा साउद अर्धशतक हिर्काउने पहिलो खेलाडी बनिन् । डोटीका रेश्मी विष्टले दुई विकेट लिइन् ।
जवाफी ब्याटिङ गरेको डोटी १७ दशमलव चार ओभरमा १०४ रनमा अलआउट भयो । डोटीका अल्फा श्रेष्ठले ३९ रनको योगदान गरिन् । अछामका लागि रविना साउद र बबिता धामीले समान तीन/तीन विकेट लिए । यो खेलमा रविना ‘प्लेयर अफ दी म्याच’ चुनिएकी छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस १९ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघको पहिलो सातादेखि धनगढीमा हुँदैछ ।