संयुक्त राज्य अमेरिका, १९ पुस/एएफपी
अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किंदा कम्तीमा दुईजनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार बिहीवार लस एन्जल्सबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्टनजीकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।
फुलर्टन प्रहरीले एक्समा भनेको छ, “दुईजनाको मृत्यु पुष्टि भएको छ ।” यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठजनाको घटनास्थलमैं उपचार गरिएको छ ।
एक प्रहरी अधिकारीले स्थानीय स्टेशन केटिएलएलाई बताए अनुसार मृतकहरू विमानका यात्री हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धूवाँ निस्केको देखिएको छ । “एक ठूलो आवाजसहित जहाज भवनमा ठाक्किंदा हामी तर्सियौं र त्यसपछि भवनबाट भाग्न थाल्यौं,” घटनास्थलका प्रत्यक्षदर्शीमध्येका एक जेरोम क्रूजले सिबिएस न्यूजलाई बताए ।
फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए)का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।
गत नोभेम्बरमा फुलर्टन विमानस्थलनजीकै भएको अर्को दुर्घटनामा दुईजना घाइते भएका थिए । रासस