प्रस, परवानीपुर, १६ पुस/
नेपालको दोस्रो र काठमाडौं उपत्यकाबाहिर प्रथम आँखा अस्पतालको रूपमा चिनिने रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पताल, परवानीपुर, वीरगंजले फागुन १२ गते स्वर्ण महोत्सव मनाउने भएको छ ।

बृजलाल सेवा केडिया ट्रस्टद्वारा स्थापित एवं नेपाल नेत्रज्योति सङ्घद्वारा स्थापित यो अस्पताल ४९ वर्ष पूरा गरी ५० वर्ष प्रवेश गरेको अवसरमा अस्पताल व्यवस्थापन समितिले चालू आवमा विभिन्न कार्यक्रम गर्दै स्वर्ण महोत्सव मनाइरहेको भए पनि फागुन १२ गते विशेष महोत्सव मनाउने अस्पतालका वरिष्ठ व्यवस्थापक प्रकाशकुमार वर्माले जानकारी गराए ।

सोही अवसरमा आँखा उपचारको क्षेत्रमा विशेष योगदान दिएका एकजनालाई रु दुई लाख ५१ हजार नगदसहित स्व हीरालाल केडिया स्मृति पुरस्कार दिइने निर्णय भएको उनले जानकारी गराए । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समाजसेवी एवं उद्योगपति स्व हीरालाल केडियाको योगदानको कदर गर्दै यो पुरस्कार स्थापना गरिएको उनले स्पष्ट पार्दै उनले आँखा क्ष्Fेत्रका विज्ञहरूको अधिकारसम्पन्न छनोट समितिले पुरस्कार पाउने व्यक्तिको निर्णय गर्ने जानकारी गराए ।

पुरस्कारको लागि अस्पतालले आवेदकहरूको आह्वान गरिसकेको छ । माघ ७ गतेभित्र सरोकारवालाले अस्पतालमा आवेदन गर्न पाउनेछन् । आँखा क्षेत्रमा न्यूनतम २० वर्ष अनवरत सेवा गरेको, उमेर ४५ भन्दा बढी भएको, नयाँ प्रविधिको विकास एवं युगान्तकारी काम गरेको व्यक्तिलाई सम्मान गरिने लक्ष्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here