बलिराम शुक्ला, बिरुवागुठी १७ पुस/
मकवानपुर जिल्लामा रहेको ऐतिहासिक चुरियामाई सुरुङमार्ग मरम्मत सम्भारपछि सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।
मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने करीब १०० वर्ष पुरानो सुरुङ मार्ग मरम्मतपश्चात् सञ्चालनमा आएको हो ।
१९९० सालको भूकम्पमा चुरियामाई सुरुङ मार्गको चालीस खण्ड भत्किएको थियो । त्यसलाई बाग्मती प्रदेश सरकारले मरम्मत–सम्भार गरेपछि अहिले सबैलाई अवलोकन गर्न मिलेको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१५ स्थित सो सुरुङ मार्ग प्रयोगमा नआउँदा जीर्ण बनेको थियो । सुरुङ पुनर्निर्माणको काम २०७८ सालदेखि शुरू भएको थियो ।
काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराईसम्म जोड्न तत्कालीन प्रधानमन्त्री चन्द्रशमसेर राणाको पालामा सुरुण्¬ मार्ग निर्माण भएको थियो ।
राणाकालमा रक्सौल बाट बाराको अमलेखगंजसम्म रेल चल्थ्यो । त्यहाँबाट चुरे पहाडको कारण हेटौंडा जान गा¥हो हुने गरेकोले सुरुङ मार्गको निर्माण १९७४ सालमा नेपालका प्रथम ग्रेजुएट इन्जिनीयर स्व. डिल्लीजंग थापाद्वारा डिजाइन गरिए अनुसार निर्माण गरिएको थियो ।
चुरे पर्वत क्षेत्रमा बनेको यो सुरुङ मार्ग ३ मिटर चौडा, २.७५ मिटर अग्लो र ५०० मिटर लामो छ ।
अहिले सर्वसाधारणको लागि अवलोकन गर्न प्रतिव्यक्ति रु ५०, बिद्यार्थीका लागि रु १० र विदेशी पर्यटकका लागि रु १०० टिकट राखिएको चुरियामाई सुरुङ मार्गका हेरालु कर्मचारी शुक्र वाइबाले बताए ।