चिरञ्जीवी सापकोटा, ठोरी, १७ पुस/
नयाँ वर्ष २०२५ मनाउन ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लागेको थियो । नयाँ वर्ष मनाउन प्रत्येक वर्ष ठोरीमा नेपालको बारा, पर्सा रौतहट, सर्लाहीलगायत स्थान तथा भारतको विभिन्न स्थानबाट पर्यटक आउने गर्दछन् ।

यस वर्ष नयाँ वर्ष मनाउन ठोरी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठोरी गाउँँपालिकाले टीका र ढाकाटोपी लगाई स्वागत गरेको ठोरी गाउँँपालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन् । नयाँ वर्ष मनाउन आउने पर्यटकहरूले ठोरीको गणेशमान पार्क राईधारा, पञ्चेश्वर परिसर, सीतागुफा परिसर, ठुटेखोला परिसर, कृष्ण मन्दिर परिसर, रातो पहाड, अमृत धारा, वनशक्ति परिसर, रानीवन, चिसापानी, सिङेडाडालगायत क्षेत्र भरिभराउ देखिएको थियो । यस वर्ष पनि वनभोज गर्न तथा मनोरञ्जन गर्न नेपाल र भारतको विभिन्न स्थानबाट पर्यटकहरूको ओइरो लागेको थियो ।

ठोरीमा रहेको ठोरी जङ्गल रिसोर्ट, रिभरसाइड रिसोर्टलगायत ठोरीका विभिन्न होटलहरूमा समेत पर्यटकहरूको भीडभाड रहेको स्थानीय होटल व्यवसायी दिनेश नेपालले जानकारी दिए । ठोरीमा मनमोहक पहाड, खोलानाला, वनजङ्गल लगायत पर्यटकीय क्षेत्र रहेकाले धेरै वर्षदेखि नयाँ वर्ष मनाउन ठोरी आउने गरेको पर्यटकहरूको भनाइ थियो ।

नयाँ वर्ष मनाउन ठोरी आउने पर्यटकहरूको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय र सशस्त्र सीमा सुरक्षा बल ठोरीले सुरक्षा प्रबन्ध मिलाएको थियो भने पर्यटकहरूको व्यवस्थापनमा निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले चाँजोपाँजो मिलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here