यस वर्ष पुसको आधाआधीबाट मात्र तापक्रम घट्न थालेको छ । अहिले मुलुकका प्रायः सबै स्थानमा चीसोको अनुपात बढ्दो छ । विशेषगरी बिहान र बेलुका चीसो हुन थालेको छ । राजधानी काठमाडौंको तापक्रम बिहानीपख ७ डिग्री सेल्सियसभन्दा तल ओर्लन थालेको छ । रातको समयमा आकाश खुला हुने र शीत पर्ने हुँदा साँझभन्दा बिहानीपख चीसो बढी हुने गरेको हो । उच्च पहाड र हिमालमा हिमपात शुरू भइसकेको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार बुधवार पुस १७ गतेदेखि सन् २०२५ जनवरी १ अर्थात् नयाँ वर्ष शुरू भएको छ । यही महीनामा हाम्रो क्षेत्रमा सबैभन्दा चीसो हुने गर्छ । केही उच्च हिमाली भागमा सामान्य हिमपात शुरू भएको छ भने तराई क्षेत्रमा हुस्सु लाग्न थालेको छ । बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा अहिले सिमरा, विराटनगर, चितवनलगायत क्षेत्रका हवाई सेवासमेत अनियमित बनेको छ ।
जाडोयाम विपन्न परिवारको लागि महासङ्कट नै बनेर आउँछ । तराई–मधेस क्षेत्रमा चीसोका कारण हरेक वर्ष सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेका छन् । हुनत हिमाली क्षेत्रका बासिन्दा पनि हिउँद महीनामा बढी नै पीडा महसूस गर्छन् । तर त्यहाँका अधिकांश मानिस हिउँद लागेपछि बेंसी झर्ने अर्थात् तातो क्षेत्रमा सर्ने भएकाले मानवीय क्षति कम हुन्छ । हिमालीहरू बेंसी झर्नु पनि सावधानीको भरपर्दो उपाय मानिएको छ । तर तराई–मधेस क्षेत्रका बासिन्दा चीसोबाट जोगिन अन्यत्र बसाइँ सर्ने विकल्प छैन । चीसोले गर्दा मुटुरोग, रक्तचाप तथा हृदयघात, फोक्सोमा समस्या अर्थात् श्वासप्रश्वास प्रणालीमा अवरोध, ग्यास्ट्रिक, हाड तथा नसाका समस्याले सताउँछ । त्यसैगरी निमोनिया, रुघाखोकी, ज्वरोलगायत समस्या आउने हँुदा बालबालिका, ज्येष्ठ नागरिक, विकलाङ्ग, असहायहरूका लागि कष्टकर हुन सक्छ । समयमा सतर्कता अपनाउन नसक्दा र समस्या आइसकेपछि पनि त्यसबाट बचाउने उपाय समयमा हुन नसक्दा मानिसको ज्यान जाने गरेको छ । कतिपय सम्पन्न वर्गका व्यक्तिहरू पनि चेतना अभावका कारण जाडोविरुद्ध बचावका उपाय अपनाउन नसक्दा ज्यान गुमाइरहेका छन् । शीतलहर हावापानीजन्य मौसमी प्रकोप हो । हुनत जाडोयाममा सबैतिर ठिहिरो लाग्छ तापनि तराईमा हुस्सुका कारण उत्पन्न हुने विषम मौसमी परिस्थिति शीतलहर पार गर्न गा¥हो छ ।
हरेक वर्ष तराई–मधेसमा जाडोयाममा शीतलहर लाग्ने र जनधनको क्षति हुने गरेको कुरा कोहीसँग लुकेको छैन । चीसोले जनस्वास्थ्य, आवागमन, खेतीबाली र पशुपक्षीको स्वास्थ्यमा समेत असर गर्ने हुँदा शीतलहरको कहर तराईमा गम्भीर हुँदै आइरहेको छ । बितेको तीन दशकमा शीतलहरबाट हुने क्षतिको परिमाण बढ्दै गएको अनुसन्धानमा संलग्न विज्ञहरूको ठहर छ । फेरि पनि सावधानीका कुरा भने छेपारोको कथा बन्ने गरेको छ ।
हामीकहाँ जाडो सकिएपछि के कस्तो अवस्था भयो, अब के कसरी तयारी गर्नुपर्छ भन्ने समीक्षा गर्ने परिपाटी छैन । कुनै विपद् घटनाबाट सिकेर अर्कोमा राम्रो गरेको पनि बिरलै पाइन्छ । सबै समस्याको समाधान प्रशासनिक मात्रै हुन्छ भन्ने मान्यता छ । घटनाको वैज्ञानिक विश्लेषण, प्राविधिक समाधान, उपयुक्त यन्त्र औजार, सीपका कुरा धेरै टाढा छन् । शीतलहरका घटना र प्रभावसम्बन्धी जानकारी पनि यथेष्ट सङ्ग्रह भएका छैनन् । यस वर्ष पनि शीतलहर शुरू हुन थालिसक्यो । तर हामी भने योजनाविहीन अवस्थामा छौं ।