प्रस, पोखरिया, १५ पुस/
नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाले ३५औं स्थापना दिवस मनाएको छ । जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरियामा आयोजित कार्यक्रमको उद्घाटन नगरप्रमुख प्रद्युम्न चौहानले गरेका थिए । उनले रेडक्रसले विशुद्धरूपमा मानवसेवामा काम गर्दै आएको बताए । उनले विपद्को बेलामा रेडक्रसको विशेष सहयोग रहँदै आएको बताए । उनले संस्थाको भवन स्थापनाको लागि नगर विकास समितिको जग्गा सहयोग गर्ने आश्वासन दिए ।
उनले जग्गाप्राप्तिका लागि उपशाखालाई नगरपालिकामा आवेदन दिन सुझाए । फरक प्रसङ्गमा नगरप्रमुख चौहानले माघ महीनाको पहिलो हप्ताभित्र पोखरिया नगर विकास समितिका जग्गाधनीलाई लालपुर्जा वितरण गरिने बताए । उनले अहिले पोखरियामा विकासको लहर चलेको र पोखरिया अस्पताल स्तरोन्नति भएर प्रादेशिक अस्पताल भएको र लगत्तै मालपोत तथा नापीका सेवाकेन्द्र पनि स्थापना हुन गइरहेको भन्दै प्रधानमन्त्रीले आइतवार जिल्ला प्रशासन कार्यालयको पनि सेवाकेन्द्र पोखरियामा स्थापना हुने घोषणा गरेकाले पोखरियावासीमा उत्साह छाएको बताए ।
नेरेसो पोखरिया उपशाखाका सचिव हिमाञ्चल प्रसादले साङ्गठनिक र कोषाध्यक्ष विनोद गिरीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उनले गत आवमा रु २३ लाख १६ हजारको तथा चालू आवमा २३ लाख ३५ हजार बराबरको आर्थिक कारोबार हुने बताए । उपशाखा सभापति भगवानप्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, वडाध्यक्ष्F लक्ष्मण साह कानू, उपशाखाका संस्थापक सभापति मुन्शी महतो, नेरेसो पर्साका भगवती चौधरी, महन्त यादव, गोवद्र्धन यादवलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत तथा सञ्चालन सचिव गिरीले गरेका थिए ।