प्रस, वीरगंज, १५ पुस/
वीरगंज महानगरको शहरी क्षेत्रमा थप ८० वटा सिसिटिभी क्यामरा जडान हुने भएको छ । महानगरको शहरी क्षेत्रका सार्वजनिकस्थलमा हाल ८० वटा सिसिटिभी क्यामरा जडान गरिएकामा थप ८० वटा सिसिटिभी क्यामरा जडान गरिने वीरगंज उद्योग वाणिज्य सङ्घ अन्तर्गतको सेफर वीरगंजका संयोजक मनोज दासले जानकारी दिए ।
त्यसका लागि सोमवार वीरगंज महानगरपालिका, सेफर वीरगंज र जिल्ला प्रहरी कार्यालय, पर्साबीच त्रिपक्षीय सम्झौता भएको छ । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको कार्यकक्षमा उनको रोहबरमा त्रिपक्षीय सम्झौता गरिएको हो ।
सम्झौतापत्रमा वीरगंज महानगरपालिकाका तर्पmबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सेफर वीरगंजबाट वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल र जिल्ला प्रहरी कार्यालय, पर्साबाट प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले हस्ताक्षर गरेको सेफर वीरगंजका संयोजक दासले जानकारी दिए ।
उनका अनुसार पावरहाउस चोकदेखि उत्तर र पश्चिमतर्पmको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सिसिटिभी क्यामरा जडान गरिनेछ । साथै त्यसका लागि वीरगंज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकम जोहोको लागि सेफर वीरगंजले बैंक तथा वित्तीय सङ्घसंस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय, पर्साले जडान गरिएका सिसिटिभी क्यामराको कन्ट्रोल रूमका साथै रेखदेखको जिम्मा लिने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सिसिटिभी क्यामराको सञ्जालमार्पmत वीरगंज शहरलाई थप सुरक्षित र भयरहित बनाउने उद्देश्यले शहरका विभिन्न स्थानमा थप सिसिटिभी क्यामरा जडान गर्न लागिएको र त्यसका लागि सोमवार त्रिपक्षीय सम्झौता गरिएको नगरप्रमुख सिंहले बताए ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सेफर वीरगंजका संयोजक दास, नगरप्रमुखका स्वकीय सचिव सत्यराज घिमिरे, योजना सल्लाहकार इन्जिनीयर प्रकाश अमात्य, जनसम्पर्क सल्लाहकार हरि पोखरेल लगायतको सहभागिता थियो ।