प्रस, परवानीपुर, १५ पुस/
तीन दिवसीय जय शाह ट्रफी क्रिकेट प्रतियोगिताको तयारी वीरगंजमा तीव्र गतिमा भइरहेको छ । आगामी जनवरी ५ देखि १६ सम्म हुने यो प्रतियोगिताको आयोजक नेपाल क्रिकेट सङ्घ हो । क्यान पर्सा र धनुषाको सहकार्यमा वीरगंज र जनकपुरमा आयोजना हुने यो प्रतियोगितामा पिएम कपका उत्कृष्ट चार टीम मधेस, बाग्मती प्रदेश, नेपाली सेना र नेपाल प्रहरी सहभागी हुनेछन् । प्रतियोगिताका छवटा लिग म्याचमध्ये तीनवटा वीरगंजमा र तीनवटा जनकपुरमा आयोजना हुने तालिका छ । प्रतियोगिताको उद्घाटन समारोह र फाइनल खेल जनवरी १४ देखि वीरगंजमा आयोजना हुने क्यान पर्साका अध्यक्ष मनीष सिंहले जानकारी गराए ।

नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्यसमेत रहेका सिंहले करीब २०–२५ वर्षदेखि लामो फर्मेटको यो प्रतियोगिता आयोजना हुँदै आएको बताए । प्रतिदिन ८५–९० ओभरसम्म सेतो जर्सीमा रातो डिज बलले खेलाइने यो सानो फर्मेटको टेस्ट क्रिकेट हो । यसमा रन बनाउनुका साथै विकेट पनि बचाएर खेल्नुपर्ने भएकोले यसलाई टेस्ट क्रिकेटको प्री–म्याच पनि भनिन्छ ।

एलिट कपको नामले पनि चिनिने यो प्रतियोगिताको तयारीको क्रममा तीन महीनादेखि वीरगंजको नारायणी क्रिकेट ग्राउन्डमा तीनवटा विकेटलाई अन्तर्राष्ट्रियस्तरमा निर्माण गरिएको छ भने ९५ यार्डबीचको क्षेत्रलाई मरम्मतसम्भार र घाँस रोपेर चिटिक्क पारिएको छ । निश्शुल्क हेर्न सकिने यो प्रतियोगिताका सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्ने लक्ष्य पनि रहेको छ । दर्शकले सहजै मोबाइल र टिभीमा हेर्न सक्ने क्यान पर्साका अध्यक्ष सिंहले बताए । यो प्रतियोगितामा सहभागी चारवटा टीममा चर्चित खेलाडीहरूको समेत सहभागिता रहनेछ । तर दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल फ्रेन्चाइजी खेल खेल्ने भएकाले नखेल्ने, मधेस प्रदेशका अनिल साह घाइते छन् । रोहित पौडेल र सन्दीप जोरा सहभागी चार टीममा नरहेकाले उनीहरूको यो प्रतियोगितामा उपस्थिति देखिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here