प्रस, वीरगज, १३ पुस/
भारतको मोतिहारीदेखि बाराको अमलेखगंजसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण शुरू भए लगत्तै विभिन्न ढुवानी सङ्घले शनिवारदेखि आन्दोलन शुरू गरेका छन् ।
अमलेखगंज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घले लामो समयदेखि बरौनीदेखि अमलेखगंजसम्म पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको र अहिले सन् २०२५ को जनवरी १ देखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी गरिने तयारी हुँदा १०४ वटा ट्याङ्कर विस्थापित हुने भन्दै सङ्घले आन्दोलनमा उत्रनुपरेको जनाएको छ । आज अमलेखगंज डिपो अगाडि पत्रकार सम्मेलन गर्दै सङ्घले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आपूर्ति गर्दा विस्थापित हुने ट्याङ्करहरूको हकमा विचार पु¥याउन आग्रह गरेको थियो । आजदेखि शुरू भएको आन्दोलन वार्तापछि पुस २४ गते सहमति गर्नेगरी स्थगन गरिएको छ ।
मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मटीतेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगंजका प्रमुख प्रलयङ्कर आचार्यले बताए ।
पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मटीतेल ल्याइसकेको प्रमुख आचार्यले बताए ।
पाइप लाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुने उनले बताए । पाइलाइन विस्तार परियोजना अन्तर्गत भारतीय आयल निगमले अमलेखगंजस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुईवटा पेट्रोल टङ्की, २५ं० किलोलिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्र्याक र पेट्रोल ढुवानीका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिसकेको छ ।
परियोजना अन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पिएमसिसी कक्षसमेत निर्माण भएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्नेगरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिन अघि मात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए । यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुईवटा ट्रान्समिक्स ट्र्याक र डिपोको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्र्याक भारतीय आयल निगमले निर्माण गरिदिएको छ ।
परियोजना अन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको थियो । दोस्रो चरणमा पाइपलाइनबाटै पेट्रोल र मटीतेल आयात हुनेछ ।