प्रस, निजगढ, १३ पुस/
नेवाः देय् दबू (नेवाः राष्ट्रिय सङ्गठन) को तेस्रो बारा जिल्ला अधिवेशन शनिवार निजगढमा सम्पन्न भएको छ । सो अधिवेशनले पुनः शिवराम श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय पदाधिकारीहरू सर्वसम्मत चयन गरेको छ । अधिवेशनले वरिष्ठ उपाध्यक्ष राजकुुमार मानन्धर, उपाध्यक्ष राजन श्रेष्ठ, महिला उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, सचिव मदनराज कंसाकार, महिला सचिव किरण श्रेष्ठ, कोषाध्यक्ष काश्यप श्रेष्ठलगायत सदस्यहरूलाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी, नेवाः देय् दबूको दोस्रो निजगढ नगर अधिवेशन पनि आजै सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष दीपक श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष किरण श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, महिला उपाध्यक्ष भवानी श्रेष्ठ, सचिव प्रकाश श्रेष्ठ, महिला सचिव रेणुुका मानन्धर, कोषाध्यक्ष गङ्गा श्रेष्ठलगायत १७ सदस्य चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं मधेस विश्वविद्यालयका उपकुलपति एवं नेवाः देय् दबू मधेस प्रदेशका सल्लाहकार संयोजक प्राडा दीपक शाक्यले नेवारी आदिवासी जनजातिको लिपि, कला, भाषा, संस्कृति, रीतिरिवाज, पहिरन मौलिक रहेकाले नेवार जातिको छुट्टै पहिचान रहेको बताए । उनले नेवारी कला, भाषा, संस्कृति, रीतिरिवाज, लिपि, पहिरनले छुट्टै परिचय बनाएको र यसको विकास र विस्तारबाट नेवारी समुदाय मात्र नभई सम्रग समुदायसँगै देश नै समृद्ध हुन सक्ने सम्भावना रहेको बताए ।
उनले वीरगंजस्थित घण्टाघर, शङ्काराचार्यद्वार, गहवामाई मन्दिरमा नेवारी समुदायका कालिगडद्वारा कँुदिएका सीप, कला, कौशल रहेको जानकारी गराए । नेवारी समुदाय समृद्ध अनि स्वाभिमानी भएको चर्चा गर्दै उनले जब, कला, भाषा, संस्कृति लोप हुन्छ, तब पहिचान लोप हुने भएकोले आउँदो पुस्तालाई भाषा, कला, लिपि, संस्कृतिको विषयमा ज्ञान, सीप दिन सके मात्रै नेवार जातिको महŒव झनै बढ्ने बताए ।
कार्यक्रममा नेवाः देय् दबू मधेस प्रदेशका अध्यक्ष तिलक श्रेष्ठले नेवारी समुदायको उत्थानका लागि मौलिक भाषा, कला, साहित्य, संस्कृतिको विकास गर्न सबै एकमत हुनुपर्ने बताए । कार्यक्रममा रामभक्त प्रधान, शिवबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नेवाः देय् दबू बाराका अध्यक्ष शिवराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजन श्रेष्ठ र सञ्चालन मदनराज कंसाकारले गरेका थिए ।