प्रस, पर्सागढी, १३ पुस/
ब्रिटिश सेनालाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढी नगरपालिकामा यही पुस १९ गते पर्सागढी २१०औं विजय महोत्सव मनाइने भएको छ । नेपाली सेना र पर्सागढी नगरपालिकाको सहकार्यमा पर्सागढी मन्दिर व्यवस्थापन समितिले प्रत्येक वर्ष पुस १९ गते मनाउँदै आएको पर्सागढी विजय महोत्सव यस वर्ष पनि धूमधामका साथ मनाउने शनिवार पत्रकार सम्मेलनमा नगरप्रमुख गोकर्ण पाठकले जानकारी गराए । नगरप्रमुख पाठकले नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिंदै पर्सागढी २१०औं विजय महोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुस १९ गते बिहान १० बजे भेला भई विभिन्न झाँकी एवं नेपाली सेनाको टोली बाजागाजासहित हर्षोल्लासका साथ पदयात्रा गर्दै वडा नं ६ स्थित युद्धस्थल पर्सागढी मन्दिर परिसरमा पुगेर विजय महोत्सव कार्यक्रममा परिणत हुने जानकारी गराए ।

पत्रकार सम्मेलनमा पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बृजमोहन चौधरीले विसं १८७१ पुस १९ गते पर्सागढीमा स्थानीय रञ्जीत चौधरीको कुशल युद्ध नीति तथा स्थानीयवासीको सक्रियतामा आधुनिक हतियारले सुसज्जित ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक विजयोत्सवको सम्झनामा पर्सागढी विजय महोत्सवको आयोजना प्रत्येक वर्ष हुने गरेको बताए । पर्सागढी नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेना र स्थानीयवासीको सहभागितामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले पर्सागढी २१०औं विजय महोत्सव आयोजना गर्न लागेको उनले जानकारी गराए ।

पर्सामा पर्सागढी मन्दिर एकमात्र ऐतिहासिक युद्धस्थल रहे पनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चौधरीले मन्दिरको दुवैतर्फ रहेका नदी सबैभन्दा ठूलो बाधक रहेको र मन्दिरलगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न तीनै तहको सरकारसहित निजी क्षेत्रले पनि ध्यान पु¥याउनुपर्ने बताए । उनले अहिले मन्दिरको नाममा दुई कट्ठा जग्गा मात्र रहेको र बाँकी जग्गा अतिक्रमणको शिकार भएको बताए । उनले ऐतिहासिक महŒव बोकेको पर्सागढी विजयोत्सवको सन्दर्भमा लेखिएका युद्ध लेख, दस्तावेजहरूमा युद्ध सफल पार्न प्रमुख भूमिका खेलेका रञ्जीत चौधरीको नाम उल्लेख नभएको भन्दै समावेश गर्न आग्रह गरे । युद्धस्थलमा चौधरीको कुलदेवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको यो क्षेत्रमा मदिरा र मांसाहारी भोजनमा प्रतिबन्ध रहेको बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here