प्रस, वीरगंज, १३ पुस/
डिएभी रूक्मणि बनारसी केडिया स्कूलमा तेस्रो संस्करणको शङ्करलाल केडिया मेमोरियल अन्तरविद्यालय फूटबल प्रतियोगिताको शनिवार फाइनल खेल सम्पन्न भएको छ ।
फाइनलमा मूनलाइट स्कूलले लिटिल फ्लावर स्कूललाई एकका विरुद्ध सात गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ । फाइनल खेलको उत्कृष्ट खेलाडी मूनलाइटका सुरेश मुखिया घोषित भए । विजेता मूनलाइटलाई नगद १५ हजारसहित ट्रफी, मेडल प्रदान गरिएको थियो भने उपविजेता लिटिल फ्लावरलाई १० हजार नगद, ट्रफी र मेडल प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य रहबर अन्सारीले विजेता र उपविजेता टीमलाई पुरस्कृत गरेका थिए । कार्यक्रममा केडिया परिवारका सुनील केडिया, सन्दीप केडिया, डा विजय अग्रवाल, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, उपाध्यक्ष शिवजी गुप्ता, सुलभ केसी, दिनेश बङ्कालगायतको सहभागिता थियो ।
प्रतियोगितामा डिएभी, ज्ञानदा एकेडेमी, साउथजोन, मनकामना, कादम्बरी एकेडेमी, डिपिएस, मूनलाइट, जीवनज्योति, लिटिल फ्लावर, मालिनी एकेडेमी, मेरीगोल्ड, काभेरी एकेडेमी गरी १२ वटा विद्यालय सहभागी थिए । कार्यक्रमको सहजीकरण शिक्षिका मेधा दधीचिले गरेकी थिइन् ।