प्रमोद यादव, वीरगंज, १२ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घ, पर्साका निर्वाचित पदाधिकारी सदस्यहरूलाई शुक्रवार सम्मानित गरेको छ ।
सम्मान कार्यक्रममा वीउवासङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे सरकारले उद्योगहरूको सुझावलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले विद्युत्मा नेपाल आत्मनिर्भर भएको भनिए पनि अहिले लोडसेडिड्ढो चरम पीडा उद्योगहरूले भोग्नुपरेको बताए ।
विगत एक महीनादेखि अनधिकृत लोडसेडिङले वीरगंज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरूले समस्या भोग्दै आएका र साना उद्योगहरू बन्द हुने क्रम जारी रहेको बताए । उनले नेपाल पत्रकार महासङ्घसँग वीउवासङ्घ वित्तीय क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।
महासङ्घ, पर्साका नवनिर्वाचित अध्यक्ष ओमप्रकाश खनालले उद्योगी–व्यवसायीको समस्यालाई पत्रकारहरूले यथोचितरूपमा उठान गर्ने र आर्थिक क्षेत्रका समस्याका बारेमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपालले महासङ्घ, पर्साका निर्वाचित पदाधिकारी सदस्यहरू, प्रदेश परिषद् सदस्य, केन्द्रीय परिषद् सदस्य र केन्द्रीय सचिव, प्रदेश सचिवलगायतलाई फूलमाला, अबीर लगाएर सम्मानित गरेका थिए ।