• भरत सहनी

विसं २०४५ सालमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) राष्ट्रका लागि आवश्यक प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन गर्न प्रतिबद्ध प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम

(टिभिइटी) क्षेत्रको राष्ट्रिय स्वायत्त सर्वोच्च निकाय हो । सिटिइभिटीले मुख्यतया नीति निर्माण, गुणस्तर नियन्त्रण, योग्यतामा आधारित पाठ्यक्रम तयार गर्ने, विभिन्न पेशाको सीपको स्तर विकास गर्ने र व्यक्तिको सीप परीक्षण गर्ने, विभिन्न अनुसन्धान अध्ययन सञ्चालन गर्ने र तालीमको आवश्यकता मूल्याङ्कन जस्ता कामहरू गर्दै आएको छ । प्राविधिक तथा दक्ष जनशक्ति उत्पादनका लागि सिटिइभिटी अन्तर्गतका आङ्गिक, साझेदारी तथा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) शिक्षालयहरू र निजी क्षेत्रका शिक्षालयहरूमार्पmत डिप्लोमा तह, प्रि–डिप्लोमा तह र छोटो अवधिको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा राज्यको प्राथमिकतामा परेको विषय भएपनि श्रम बजारको माग सम्बोधन गर्न सक्ने गुणस्तरीय शिक्षाको अभावमा युवा आकर्षण घट्दो छ । विद्यार्थीको अभावमा कतिपय शिक्षालयहरू बन्द भइसकेका र कैयौं शिक्षालयहरू बन्द हुने अवस्थामा पुगिसकेका छन् । तसर्थ प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम क्षेत्रमा गुणस्तर सुधारको खाँचो छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको गुणस्तर सुधार गरी शिक्षामा युवा आकर्षण बढाउन, श्रम बजारको मागलाई सम्बोधन गर्न र रोजगारदाताहरूसँग समन्वय र सहकार्य गरी घरेलु श्रम बजारमा दिगो तथा सम्मानित रोजगारको वातावरण सिर्जना गर्न शिक्षामा गरिनुपर्ने सुधारका केही विषयवस्तुहरूबारे यस आलेखमा चर्चा गर्न खोजिएको छ ।

शिक्षण संस्थाको विश्वसनीयता र दिगोपन संस्थाको सुशासनमा निर्भर रहने भएकोले शिक्षण संस्थाको शैक्षिक, भौतिक तथा आर्थिक पक्षहरू चुस्तदुरुस्त र पारदर्शी हुनु आवश्यक छ । शिक्षण संस्था सुधारका लागि प्रत्येक शैक्षिक सत्रको अन्तमा स्वमूल्याङ्कन गर्ने र सुधार गर्नुपर्ने विषयहरूलाई सरोकारवालाहरूसँगको समन्वयमा रणनीतिक तथा वार्षिक योजना निर्माण गरी कार्यान्वयन गराउनुपर्ने हुन्छ । गुणस्तरीय शिक्षाका लागि संस्थाका आवश्यक नीति, रणनीतिहरू, समावेशिता, सहभागिता, निर्णय प्रक्रिया, सेवाप्रवाहको सुनिश्चितता आदिमा पारदर्शिता हुनु आवश्यक छ । वार्षिकरूपमा सम्पन्न गरिएका कामको सामाजिक तथा आर्थिक लेखापरीक्षण गराउने र सम्पूर्ण प्रक्रिया सहभागितात्मकरूपमा गर्न सकिएमा मात्र शिक्षण संस्थाप्रति सबैको अपनत्व, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्व प्राप्त गर्न सकिन्छ ।

प्राविधिक विषय तथा व्यवसायको कुनै एउटै भौगोलिक तथा सामाजिक क्षेत्रमा लामो समयसम्म बजार माग रहिरहने सम्भावना हुँदैन । यस कारण अन्य क्षेत्रको परिवर्तनसँगै प्राविधिक शिक्षाका कार्यक्रमहरूलाई परिमार्जन गर्न सकिएको अवस्थामा मात्र शिक्षण संस्थाको दिगोपन निर्भर रहन्छ । वयस्क सिकाइका विषयवस्तुहरूलाई व्यावहारिक र तत्काल नतीजा दिनेगरी कार्यान्वयन गराउन सकेमा मात्र यसले श्रमबजारको आवश्यकता पूरा गर्ने र परनिर्भरता कम गर्न मदत पुग्छ । यसका लागि आवधिकरूपमा आवश्यकता पहिचान, श्रमबजार विश्लेषण, प्रभाव मूल्याङ्कन, अध्ययन तथा अनुसन्धानहरू गरिनु आवश्यक छ ।

शिक्षाको गुणस्तर सुधारमा नेतृत्वका साथै प्रशिक्षक–शिक्षकहरूको सबैभन्दा अहम् भूमिका रहने भएकाले योग्य, सक्षम, जाँगरिला, समर्पित, सकारात्मक सोच भएका आधुनिक प्रविधिसँग परिचित उत्कृष्ट जनशक्तिको व्यवस्थापन गरिनुपर्छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि औद्योगिक अनुभव प्राप्त, सृजनशील, लगनशील प्रशिक्षकहरू सबैभन्दा महŒवपूर्ण कारक हुन् । समयसमयमा दिइने पुनर्ताजगी तालीम तथा कार्यक्रमहरूले प्रशिक्षकहरूको क्षमता अभिवृद्धि हुनुका साथै पेशाप्रतिको उत्प्रेरणा बनाइराख्न मदत पुग्छ । गुणस्तरीय शिक्षाको लागि शिक्षण संस्थाको नेतृत्व तथा प्रशिक्षकहरू निवेशको रूपमा रहेका हुन्छन् । प्रतिस्पर्धाबाट सक्षम नेतृत्व छनोट गरेर जिम्मेवारी दिन सकेमा मात्र शैक्षिक सुधार हुन सक्छ । भनसुन, नातागोता, अनिच्छुक, बलपूर्वक जिम्मेवारी दिइएको नेतृत्वबाट गुणस्तर सुनिश्चितताको अपेक्षा गर्न सकिन्न । शैक्षिक गुणस्तर सुधारको लागि योग्य, इमानदार, क्षमतावान्, दृढ सङ्कल्प र दूरदृष्टि भएका व्यक्तिलाई नेतृत्व दिइनुपर्छ । सम्भावित प्रशिक्षक–शिक्षकहरूलाई शिक्षण संस्था व्यवस्थापनसम्बन्धी तालीम दिने प्रावधानहरू राख्नुपर्छ ताकि नेतृत्व लिन चाहने व्यक्तिले उक्त तालीम प्राप्त गरी आफूलाई सक्षम बनाएर नेतृत्व गर्न सकोस् ।

सीप नक्शाङ्कन गरी श्रमबजारको आवश्यकतामा आधारित भई शिक्षण संस्था तथा शैक्षिक कार्यक्रमहरू विस्तार गरिनुपर्छ । कार्यक्रमहरूलाई निश्शुल्क वा न्यून शुल्कमा अध्ययन गर्ने व्यवस्था हुन सकेमा गुणस्तर सुनिश्चितता गर्न सकिन्छ । राज्यले शिक्षण संस्थाहरूको विस्तार र शिक्षामा समावेशीमूलक पहुँच सुनिश्चितता गर्ने नीतिगत व्यवस्था गर्न सकेमा मात्र इच्छुक सबैले शिक्षा लिने वातावरण बन्छ । प्राविधिक शिक्षातर्पm हाल विस्तार गरिएका शिक्षण संस्थाहरू तथा सञ्चालित कार्यक्रमहरूको आवश्यकता, उपयुक्त पूर्वाधारको तयारी, मानवीय स्रोत आदि हेरेर कार्यक्रमहरूलाई परिमार्जन तथा स्थगन गर्नु आवश्यक देखिन्छ ।

गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, पूरक सन्दर्भ सामग्री, शिक्षक निर्देशिका सहज र सरलरूपमा उपलब्ध हुनुका साथै सिकाइ सामग्रीहरू सिकारुको रुचि र चाहना अनुकूल सान्दर्भिक, समयसापेक्ष, रचनात्मक र प्रविधिमैत्री हुनुपर्छ । सिकाइलाई व्यावहारिक बनाउन श्रमबजारको माग सम्बोधन हुनेगरी पाठ्यक्रम निर्माण तथा समयानुकूल परिमार्जन गरिनुपर्छ । पाठ्यक्रम र पाठटवस्तुले निर्देशित गरे अनुसार प्रभावकारी सिकाइ गर्न शिक्षण संस्थाको भौतिक पूर्वाधारहरू जस्तै कक्षाकोठा, प्रयोगशाला, कार्यशाला, फर्निचर, खेलमैदान, स्वच्छ तथा सफा खानेपानीको व्यवस्था, सुरक्षित कम्पाउन्ड, व्यवस्थित शैक्षिक वातावरण, पुस्तकालय, मेशीन, औजार, उपकरण, डिजिटल सामग्री, चमेनागृह तथा आवासको व्यवस्थाको गुणस्तर सुधार गर्न सकिएमा सिकाइलाई व्यावहारिक बनाउनमा मदत पु¥याउन सकिन्छ ।

सीप र सिकाइलाई प्रत्यक्षरूपमा श्रमबजारसँग जोड्न सकिएमा मात्र प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुनिश्चित गरिएको मान्न सकिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षालाई व्यावहारिक बनाउन प्रयोगात्मक सिकाइमा जोड दिनुका साथै त्यसको परीक्षण पनि सिकाइका उपलब्धिहरू मापन हुनेगरी गरिनुपर्छ । हालको परीक्षा प्रणालीमा परिमार्जन गरी निरन्तर मूल्याङ्कनको ढाँचामा प्रयोगात्मक सिकाइ गर्ने र थोरै भार मात्र अन्तिम लिखित परीक्षालाई दिइनुपर्छ । जसले पढाइ तथा बुझाइभन्दा पनि सिकाइ र त्यसको कार्यस्थलमा प्रयोग गर्ने अभ्यास र बानी विकास गराउन सहयोग पुग्छ । हाल प्रयोगात्मक सिकाइको मूल्याङ्कनभन्दा पनि अन्तिम लिखित परीक्षाको परिणामको आधारमा मात्रै नतीजा प्रकाशन हुँदै आएकोले अनुत्तीर्ण हुने प्रशिक्षार्थीको सङ्ख्या उच्च रहेको छ ।

प्रशिक्षण तथा सिकाइ गुणस्तरीय शिक्षाको सबैभन्दा महŒवपूर्ण भाग हो । सिकारुलाई सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिकरूपमा तयार गरी भय र चिन्तारहित वातावरणमा सिकाउने व्यवस्था गरिएको र सिक्नका लागि सदैव तत्पर रहेको सुनिश्चित गरिनु आवश्यक छ । सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजना कार्यमा आधारित हुनुपर्छ । शैक्षिक गतिविधि समय अनुसार सञ्चालन गर्ने, नियमित अनुगमन तथा सुपरिवेक्षण गर्न सके मात्र शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ । शिक्षकको एकल प्रयास गुणस्तर सुधारमा सार्थक बन्न नसक्ने भएकोले सबैको साझा प्रयासमा मात्र शैक्षिक गुणस्तर सम्भव छ । शिक्षण संस्थाको लक्षित क्षेत्रमा रहेका उद्योग–व्यवसाय तथा प्रतिष्ठानहरूसँगको नजीकको सम्पर्क, समन्वय र सहकार्यमा औद्योगिक प्रशिक्षण, कार्यगत अभ्याससहितको तालीम तथा सीप स्तरोन्नति तालीम सञ्चालन गर्न सकिन्छ ।

गुणस्तरीय शिक्षा भनेको व्यक्तिको रुचि र क्षमतालाई बुझेर जीविकोपार्जनमा प्रमुख भूमिका खेल्न सहयोग पुग्ने, प्रमाणपत्र पनि भएको र सामाजिक परिवेशप्रति सचेत तथा उत्तरदायी गराउन सक्षम शिक्षा भन्ने बुझिनुपर्छ । शिक्षण संस्थाले विषयसँग सम्बन्धित ज्ञान र सीपका साथै सिकारुलाई दिइने जीवनोपयोगी सीपहरू, परामर्श, वृत्ति मार्ग निर्देशन तथा सुझावहरूले व्यक्तिलाई सुयोग्य र दक्ष बनाउन मदत गर्छ । विद्यालयमा दिइने शिक्षा व्यक्तिको सर्वाङ्गीण विकास र बौद्धिकताहरूको उजागर मात्र होइन, परम्पराको वैज्ञानिकीकरण, प्रवद्र्धन र व्यावसायीकरण उन्मुख हुनुपर्छ । एकातर्पm विद्यालयमा बारम्बार अनुत्तीर्ण हुने, विद्यालयबाट निकालिएकाहरू व्यावहारिक जीवनमा सफल भएका तर औपचारिक शिक्षाको प्रमाणपत्र नभएका कारण आफूमैं हीनताबोध भएकाहरू भेटिन्छन् भने अर्काेतर्पm शैक्षिक योग्यताका प्रमाणपत्र भएका तर तद्नुरूपको सीप तथा व्यावहारिक र जीवनोपयोगी सीप नभएका कारण बेरोजगार भएकाहरू पनि पाइन्छन् ।

प्रत्येक शिक्षण संस्थाका सम्पूर्ण गतिविधिका सूचना तथा तथ्याङ्कहरूको अभिलेखीकरण गरी अद्यावधिक गर्ने कार्य गरिएको हुनुपर्छ । शिक्षाका सरोकारवालाहरू धेरै हुने भएकाले सबैखाले तथ्याङ्क जुनसुकै बेला पनि आवश्यक पर्न सक्छन् । शिक्षण संस्थासँग प्रत्येक शैक्षिक सत्रका कार्यक्रमहरूमा आवेदकको सङ्ख्या, अध्ययनका लागि भर्ना भएको सङ्ख्या, बीचैमा अध्ययन छोडेको सङ्ख्या, उत्तीर्ण हुने दर, रोजगारी दर, आयआर्जनको अवस्था र समग्रमा कार्यक्रमको प्रभाव आदिको जानकारी हुनेगरी अध्ययन विश्लेषण गर्ने गरिएको हुनुपर्छ । यसबाट कार्यक्रममा सुधार गर्नुपर्ने पक्षहरूको लेखाजोखा राख्न, योजना तर्जुमा गर्न र कार्यक्रमहरूमा सुधार गर्न सहयोग पुग्छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम प्रणालीमा पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिक तथा मानवस्रोत विकास र व्यवस्थापन, शिक्षण सिकाइ विधिलगायतका क्षेत्रमा समयसापेक्ष संशोधन, परिमार्जन र परिवर्तन गर्दै शिक्षालाई गुणस्तरीय, व्यावहारिक, जीवनोपयोगी, रोजगारमैत्री एवं अनुसन्धानमूलक बनाउन जरुरी छ । हाम्रा शिक्षण संस्थाहरूमा गुणस्तरीय शिक्षण सिकाइको स्तर खस्कँदै गएको, सिकाइमा व्यावहारिकता घट्दै गएको, परम्परागत अध्यापनशैलीबाट आधुनिक शिक्षण सीपमा रूपान्तरित हुन नसकेका जनगुनासाहरू सुनिन्छन् । शिक्षण पेशा एक प्राविधिक कार्य भएकोले यसको सम्पन्नताका लागि निश्चित सीप र दक्षताको आवश्यकता पर्छ । शिक्षण पेशामा संलग्न प्रशिक्षकहरूले आधुनिक शिक्षण सिकाइमा आवश्यक पर्ने सैद्धान्तिक, मनोवैज्ञानिक, व्यावहारिक एवं प्राविधिक ज्ञान तथा सीपलाई प्रशिक्षणको अनिवार्य प्राज्ञिक शर्त मानी सोअनुरूप शिक्षण सिकाइ गर्न सकेमा मात्र शिक्षाको उद्देश्य प्राप्त गर्न सकिन्छ । यस सन्दर्भमा समयमैं ध्यान दिन नसक्दा यसका दूरगामी असरहरू देखिन थालिसकेका छन् र अझ बढ्दै जाने निश्चित जस्तै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here