नयाँ दिल्ली, १२ पुस/एएफपी
सन् १९९० को दशकको शुरूमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रवार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हालेका सिंहको बिहीवार साँझ नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
“दिवङ्गत महानुभावप्रति सम्मानस्वरूप सम्पूर्ण भारतमा सात दिनको राजकीय शोक मनाइने निर्णय गरिएको छ,” भारत सरकारले शुक्रवार एक विज्ञप्तिमा भनेको छ । शोक जनवरी १ सम्म मनाइनेछ ।
“स्वर्गीय डा मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय पनि गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
अस्ट्रेलियासँग चौथो टेस्ट खेलिरहेको भारतीय क्रिकेट टोलीले शुक्रवार सिंहप्रति सम्मान प्रकट गर्न हातमा कालो ब्यान्ड लिएर शुक्रवार मैदानमा पुगेको थियो ।
राजकीय अन्त्येष्टिको मिति तत्काल घोषणा नगरिए पनि काङ्ग्रेस पार्टीका एक वरिष्ठ सदस्यले शनिवार हुन सक्ने सङ्केत गरेका छन् ।
सरल टेक्नोक्र्र्याट
पूर्वप्रधानमन्त्री सिंह एक सरल टेक्नोक्र्र्याट थिए । उनलाई पहिलो कार्यकालमा एशियाको चौथो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धिको नेतृत्व गरेकामा प्रशंसा गरिएको थियो तर उनको दोस्रो कार्यकाल ठूला भ्रष्टाचारकाण्ड, मन्द विकास र उच्च मुद्रास्फीतिका साथ समाप्त भयो ।
दोस्रो कार्यकालमा सिंहको अलोकप्रियता र तल्लो सदनमा हालका विपक्षी नेता नेहरू–गाँधी वंशज राहुल गाँधीको कमजोर नेतृत्वले सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो भारी जीतमा योगदान ग¥यो ।
सन् १९३२ मा अहिले पाकिस्तानमा रहेको गाह गाउँको माटोको घरमा जन्मेका सिंहले विशाल राष्ट्रमा गरीबी उन्मूलन गर्ने तरीका खोज्न अर्थशास्त्रको अध्ययन गरे । राष्ट्रको सर्वोच्च पद लिनु अघि उनी कहिल्यै निर्वाचित पदमा बसेका थिएनन् । उनले क्याम्ब्रिजबाट अर्थशास्त्रमा प्रथम श्रेणी र अक्सफोर्डबाट विद्यावारिधि हासिल गर्न छात्रवृत्ति पाएका थिए ।
सिंहले वरिष्ठ निजामती सेवाका विभिन्न पदमा काम गरे, केन्द्रीय बैंकको गभर्नरको रूपमा सेवा गरे र संयुक्त राष्ट्रसङ्घ जस्ता विश्वव्यापी एजेन्सीहरूमा विभिन्न पद सम्हाले ।
सन् १९९१ मा तत्कालीन काङ्ग्रेसी प्रधानमन्त्री पिभी नरसिंह रावले उनलाई भारतको आधुनिक इतिहासको सबैभन्दा खराब वित्तीय सङ्कटबाट देशलाई उकास्न जिम्मेवारी दिएका थिए ।
आफ्नो पहिलो कार्यकालमा सिंहले नौ प्रतिशतको आर्थिक वृद्धिको अवधिमा अर्थतन्त्रको नेतृत्व गरे । यसले देशलाई लामो समयदेखि खोजिरहेको अन्तर्राष्ट्रिय प्रभाव दियो ।
उनले अमेरिकासँग एउटा ऐतिहासिक आणविक सम्झौतामा पनि हस्ताक्षर गरे । उनले उक्त सम्झौताले भारतलाई आफ्नो बढ्दो ऊर्जा आवश्यकताहरू पूरा गर्न मदत गर्ने बताएका थिए । रासस