प्रस, वीरगंज, ११ पुस/
ज्येष्ठ नागरिक सङ्घ, पर्साले बिहीवार चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।

वीरगंज महानगर–१५ स्थित ज्येष्ठ नागरिक पार्कमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख राजेशमान सिंहले ज्येष्ठ नागरिक सङ्घलाई गरेको वाचा विभिन्न कारणले पूरा गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

उनले सङ्घलाई व्यवस्थापकीय जिम्मेवारी दिएको र पार्कको सरसफाइमा ध्यान दिएको बताए । उनले रु सात करोड लागतमा पार्क पुनर्संरचना गर्न ईबिडिङ गर्न लागेको जानकारी गराए । पार्कको पुनर्संरचनाको लागि बजेट व्यवस्थापनलगायतका कार्यहरू भइरहेको र यसको लागि प्रदेश सरकारसँग पनि सहयोग माग गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भौतिकताले समाज, संस्कृति पछाडि पर्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले समाजको यथार्थबारे चर्चा र अनुभव साझा गर्दै पाखण्ड सबैभन्दा घातक रहेको र ज्येष्ठ नागरिकले बाहिर सम्मान पाउने तर घरभित्र आप्mनै छोरा, नातिबाट अपमानित हुनुपर्ने अवस्था रहेको बताए ।

प्रजिअ अर्यालले घरमा आमाबुबाको वास्ता नगर्ने तर सामाजिक सञ्जालमा आमाबुबालाई विभिन्न अवसरहरूमा प्रदर्शन गरेर वाहवाही कमाउने युवा समाजप्रति कटाक्ष व्यक्त गरे । उनले ज्येष्ठ नागरिकले पनि समयसापेक्ष नियतिलाई बुझ्नुपर्ने सुझाए ।

ज्येष्ठ नागरिक सङ्घ, मधेस प्रदेशका अध्यक्ष जगदीशप्रसाद शर्माले वर्तमान परिप्रेक्ष्यमा घरपरिवारको बनोट र परिभाषा फेरिंदै गएकोले सोही अनुकूल ज्येष्ठ नागरिकहरूले पनि आफूलाई समायोजन गर्नुपर्ने सुझाए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले ज्येष्ठ नागरिकहरूले व्यक्तिगत, पारिवारिक र सामाजिक गरी तीन थरीका समस्या भोग्दै आएका र यसलाई व्यवस्थापन गर्ने विषयमा छलफल हुनुपर्ने बताए । उनले ज्येष्ठ नागरिकमैत्री महानगर बनाउन महानगरपालिका प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक जुमाद्दीन शेख हवारी र सावित्री भूमिहारलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सङ्घ, पर्साका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सङ्घका रमेश दत्त, रामानन्द कुर्मी, बिन्दु शर्मा, पुरुषोत्तम झा, उदयराज शर्मालगायतको सहभागिता थियो । कार्यक्रममा उपाध्यक्ष बैधनाथप्रसाद कोइरीले स्वागत र सहजीकरण सचिव विनयराज गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here