प्रस, वीरगंज, ११ पुस/
वीरगंज महानगरपालिका–२४ सुक्खा बन्दरगाहचोकमा बुधवार राति भारतीय ट्रकको ठक्करबाट मृत्यु भएका राज मिश्रका परिवारजनले बिहीवार दिनभरि सडक अवरुद्ध गरी धर्ना दिएका छन् ।
परिवारजनले सडकमा विरोध प्रदर्शन गरेपछि सुक्खा बन्दरगाह चोक दिनभरि तनावपूर्ण रह्यो । नम्बर खुल्न नसकेको भारतीय ट्रकले बुधवार राति ना.२५प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार राज मिश्रको घटनास्थलमैं मृत्यु भएको थियो भने कलैया उपमहानगरपालिका–६ का २८ वर्षीय सन्दीप पाण्डे घाइते भएका छन् । घाइते पाण्डेको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रकको पहिचान नभएपछि दर्जनौं ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
प्रत्यक्षदर्शीका अनुसार घटनास्थलनजीकै प्रहरी भएपनि भारतीय ट्रकले ठक्कर दिएर फरार भएको थियो ।