टोकियो, ११ पुस/एएफपी
जापान एयरलाइन्सले बिहीवार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।
एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो ।
जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए)पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो ।
“हामीले समस्याको कारण पत्ता लगायौं र सम्बोधन ग¥यौं । हामी प्रणाली पुनस्र्थापना स्थितिको जाँच गरिरहेका छौं,” जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौं ।”
यस अघि बिहीवार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताएका थिए । स्थानीय समय अनुसार बिहीवार बिहान ७ः२४ बजे नेटवर्क अवरोध शुरू भएको जेएएलले विज्ञप्तिमा जनायो । “त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरूबीच डाटा आदानप्रदान गर्ने उपकरण)लाई अस्थायीरूपमा अलग ग¥यौं,” विज्ञप्तिमा उल्लेख छ ।
यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो ।
जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा सेटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो ।
सोही वर्ष जापानको व्यस्त बन्दरगाहहरूमध्ये एक नागोया बन्दरगाह ¥यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रूसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो ।
जापानको साइबरट्याक्सविरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेशनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबर सिक्योरिटी (एनआइएससी)ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महीनासम्म घूसपैठ गरेको बताएको छ ।
सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूको सञ्चालन रोक्न बाध्य तुल्याएको थियो ।
हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठूलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जून महीनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो । रासस