प्रस, वीरगंज, १० पुस/
वीरगंज महानगरपालिका–४ सिगरेट फ्याक्ट्री निवासी स्याङ दोर्जे शेर्पाको ८२ वर्षको उमेरमा यही पुस ८ गते राति निधन भएको छ । उनी वीरगंज महानगर–३ पुरानो वारुणयन्त्र रहेको तत्कालीन नगरपञ्चायतको भवनमा छ दशकअगाडि पसल थापेर बसेका थिए ।
वीरगंजमा काठमाडौंको पुष्टकारी बेच्ने र हेटौंडा दुग्ध विकास संस्थानको दूध बिक्री गर्ने त्यहाँका पुराना विक्रेता थिए । तत्कालीन नगरपञ्चायतका वडा नं १, २, ३, ४ का बासिन्दाहरूले पाउरोटी, दूध, पुष्टकारीलगायतका सामग्री खरीद गर्ने स्याङ दोर्जे शेर्पाको पसल चर्चित थियो । शेर्पादाइको नामले चर्चित उनी पछिल्लो समय तीन दशकदेखि सिगरेट फ्याक्ट्रीको गेटअगाडि पाउरोटीलगायत बेकरी सामानहरू बिक्री गर्दै आएका थिए ।
छ दशकदेखि सोही व्यवसायमा लागेका उनी मृत्यु हुँदासम्म पेशाप्रति प्रतिबद्ध देखिए । मृत्युको दिन उनी पुस ८ गते साँझ ५ः३० बजे पसल बन्द गरेर घर गएका थिए । उनकी पत्नीले पानी दिइन् र चिया बनाइदेऊ भनेर आग्रह गरेका थिए । उनले टाउको हल्लाए र खाटमा लडेका थिए । उनको तत्कालै मृत्यु भयो । शेर्पा समुदायमा मृत्युपछि शव गाड्ने चलन छ । तर यहाँ यो समुदायका व्यक्तिको बसोबास कम भएकोले उनलाई जेठो छोराको आग्रहमा काठमाडौंमा अन्तिम संस्कारको लागि लगियो । शेर्पादाइ छ दशकदेखि पाउरोटी बिक्री गरेर जीवनयापन गरे । उनका तीन छोरा छन् तर पनि उनले आप्mनो पुरानो पेशालाई जीवन्त राखे । शारीरिकरूपमा विकलाङ्ग शेर्पादाइले गरेको सङ्घर्षको वर्णन गर्न सकिंदैन ।
जन्मजात विकलाङ्ग शेर्पादाइले आफूलाई कहिल्यै पनि सपाङ्गभन्दा कम ठानेनन् । लट्ठी टेकेर ८२ वर्षको जीवनयात्रा तय गर्दा उनको वीरगंजमा छ दशकभन्दा बढी समय व्यतीत भयो, त्यो पनि एउटै पेशामा । वयस्क हुँदा छोराहरूले पिताको पेशालाई सघाए पनि पछिल्लो समयमा उनीहरूले पिताको पेशाभन्दा विपरीत पेशा अँगाले तर पनि शेर्पादाइले हार मानेनन् र छोराको कमाइमा रजाइँ गर्नुभन्दा आफैंले सङ्घर्ष गरेर कमाइखाने बाटो पहिल्याए ।
|