• सञ्जय साह मित्र

अहिले वर्षको सबैभन्दा छोटो दिन र लामो रात हुने समय हो । यस समयमा केही वर्षदेखि बढी जाडो हुने गर्दथ्यो । अहिले सर्वसाधारणले अपेक्षा गरेजस्तो जाडो हुन सकेको छैन । पछिल्ला दुई तीन वर्षलाई यदि विचार गर्ने हो भने यस बेलासम्म कम्तीमा एउटा शीतलहर गइसक्नुपर्ने हो । केही दिन यस्तो पनि गुज्रनुपर्ने हो जब घाम नलाग्ने र कुहिरो लागिरहनुपर्ने हो । गत वर्षहरूमा यसको प्रकोपले समाज आक्रान्त थियो । अत्यधिक चीसोले जनजीवनका सम्पूर्ण अङ्ग र क्षेत्र प्रभावित भइसक्थ्यो, हुन्थ्यो । अहिले यसपटक भने करीब आधा पुस बित्न लाग्दा वा अङ्ग्रेजी नयाँ वर्ष आउन लाग्दा दुई चार दिनबाहेक खासै घाम अवरुद्ध भएको पाइएको छैन । प्रायः बिहानदेखि नै घाम लाग्ने तथा दिनभर एकनासले लागिरहेको छ । यसरी बिहानको सूर्याेदय र साँझको सूर्यास्त हरेक दिन नियमितरूपमा सर्वसाधारणले निकै वर्षपछि पुस महीनामा देख्न पाएको कुरामा शङ्का छैन । अहिलेको जाडोमा सर्वसाधारण तथा ज्येष्ठ नागरिक, सुत्केरी, साना बालबालिका तथा मुख्य गरी अति विपन्न समुदायलाई सजिलो भएको छ । जाडो त छ तर जाडोले धेरै सताएको छैन । जाडोबाट लाग्ने विभिन्न रोगहरूमा पनि कमी देखिएको गाउँघरका स्वास्थ्य संस्थाहरूको कथन छ । राति र बिहान मौसम अनुसारको जाडो भएकै छ । बिहानको तापव्रmम पनि निकै अनुकूल नै छ । दिउँसो धेरै बेर घाममा बस्न सक्ने अवस्था छैन । अनि यही नियमितता वा दैनिकीलाई विचार गरेर, विशेष गरेर जागृत वर्गले प्रश्न गर्न थालेको छ– यो मौसमको पुनरावृत्ति भएको हो कि मौसमको प्रवृत्तिमा परिवर्तन देखिन थालेको हो ?

पुसको मौसम वा पहिलेको सामान्यतालाई धेरैले बिर्सिसकेका थिए । पहिले एउटा कविता पढाइन्थ्यो, जसको केही पङ्क्तिको भाव थियो –तिमी पुस माघ महीनाको जस्तो पारिलो घाम बनेर आऊ, अनि कुहिरोलाई धपाएर न्यानो बनाऊ । यसबाट पुस (माघ)मा पारिलो घाम लाग्ने र बिहानको कुहिरो तथा जाडोलाई घामले भगाउने गरेको सम्झना लुकेको छ । अनि पहिले यो पनि सुन्ने गरिन्थ्यो कि हिमाल तथा पहाडबाट मानिस जाडो छल्न तराई झर्ने गर्दथे । कतिपय सन्दर्भमा शासकहरूमा पनि यो प्रवृत्ति रहेको देखिन्थ्यो । तराई–मधेसका कतिपय ठाउँबाट केही दिन वा महीना देशको केही अंशसम्म शासन तथा प्रशासन पनि चल्ने गरेको विभिन्न सन्दर्भमा सुन्न तथा बुझ्न पाइन्छ । तराई–मधेसका विभिन्न जिल्लामा धेरै ठूल्ठूला मानिसको आवतजावत जाडो महीनामा बढी नै हुने गर्दथ्यो । धेरै गाउँमा तिनका घरहरू पनि हुन्थे । कतिपय ठूला मानिसहरूको जाडो महीनाभर नियमित बसोवासका लागि सदरमुकाममा घर नै थियो । यसका केही अवशेष अहिले पनि नपाइने होइन । जाडो महीनामा तराई–मधेस न्यानो नै हुन्थ्यो ।

पहाडको जाडो शायद निकै कठिन हुन्थ्यो र तराई मधेसमा घाम ताप्न सजिलो हुने, हिमाल तथा पहाडको तुलनामा जाडो निकै कम हुने भएकोले हुनेखानेहरू यता आउँथे । तर, बिस्तारै मौसम परिवर्तन तथा मानिसहरूको सेवा सुविधामा परिवर्तन हुन थाल्यो । धेरै कुरा बदलिन थालेपछि मौसमको परिवर्तनले यता शीतलहर चल्न थाल्यो । शीतलहरले दिन र रात एकै किसिमले कमाउन थाल्यो । घाम लाग्दै नलाग्ने, दिनभर कुहिरो लाग्ने र पश्चिमा हावा दिनरात एकै किसिमले चलिरहने हुन थाल्यो, कैयौं दिनसम्म । यसले गर्दा तराई मधेसको जनजीवन अत्यन्तै कष्टकर बन्न थाल्यो । करीब हरेक वर्ष उही नियमितता दोहोरिंदा एउटा प्रवृत्ति नै बनिसकेको थियो र मधेसका मानिसमा पनि एउटा मनोविज्ञान बनिसकेको थियो । तर यो वर्ष मौसमले अलिक फरक रूप देखाउँदा धेरैलाई पुरानै मौसमको सम्झना हुँदा कतिपयले यसलाई मौसमको प्रवृत्तिगत पुनरावृत्ति भएको आकलन गरिरहेका छन् ।

अहिले विश्वव्यापी तापीकरणको कुरो निकै उठिरहेको छ । यस वर्ष हिमालमा पनि अहिलेसम्म खासै हिउँ परेको छैन । हिउँ पर्ने मौसम गइसकेको त छैन, तर अहिलेसम्म जति हिउँ पर्नुपर्ने हो त्यति परि नसकेकोमा धेरैले चिन्ता पनि व्यक्त गरेका छन् । समाचारहरूमा यो बताइएको छ कि यस वर्ष जाडो कम हुन्छ । वैज्ञानिकहरूले यस वर्षलाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा घोषणा गरिसकेका छन् । यी सबलाई विचार गर्दा कतै ग्लोबल वार्मिड्ढो प्रभावले नै यस वर्ष एकैचोटि ह्वात्तै मौसमले फरक रूप देखाएको त होइन ? कतै जाडो कम भइहाल्ने पो हो कि ? अनि जसरी यस वर्ष वर्षाको समयमा औसतभन्दा बढी पानी पर्ने भनिएको थियो तथा पानी पर्ने बेलामा हामीकहाँ खासै पानी परेन तथा विगतका वर्षजस्तै खासै धेरै बाढी नआएको अवस्था देखिएको थियो । त्यसैगरी औसतभन्दा कम जाडो हुने बताउँदा अन्यत्र जाडो कम भए पनि हामीकहाँ कुहिरो वा शीतलहर उस्तै हुने वा हल्का कम हुने सर्वसाधारणको अनुमान रहेको थियो । अहिले बिहानको स्वाभाविक जाडो कम छैन, रातिको समयमा हुने स्वाभाविक जाडो पनि कम छैन तथा साँझको समयमा पनि जाडो जस्तो हुनुपर्ने हो त्यस्तै छ । तर पनि विश्वव्यापी तापीकरणको प्रभावले दिउँसो धेरै घाम लागिरहेको छ कि भन्ने एकथरीको अनुमान छ, किनभने पहिलेको समयमा जति प्रदूषण हुन्थ्यो त्यसभन्दा धेरै प्रदूषण अहिले भएको देखिन्छ । धूलो तथा धूवाँ र सवारी साधनबाट निस्कने धूवाँले प्रदूषण बढाएकै हो । साथै, पानी नपरेको पनि केही महीना भइसकेको हुनाले वातावरणमा प्रदूषणको मात्रा बढेको देखिएको छ । अलिकति विचार गर्ने हो भने केही महीनादेखि हावा पनि कतैबाट खासै चलेको पाएको छैन । मौसम करीब करीब एकै किसिमको रहेको देखिएको छ ।

हुनत सर्वसाधारणको लागि मौसम अनुकूल छ । शीतलहर नचल्दा जनजीवनको कुनै पनि क्षेत्र प्रभावित हुन सकेको छैन । धेरै दृष्टिकोणले यसलाई राम्रो मानिएको छ तर ग्रामीण क्षेत्रका किसानहरूमा अहिले पनि यस किसिमको चिन्ता रहेको छ कि यदि लगातार यसै किसिमको मौसम रह्यो भने बालीनालीलाई ज्यादै अप्ठ्यारो पर्छ । सर्वसाधारणले यो कुरो सजिलै बुझेका छन् कि गहुँमा सिंचाइ गर्नुपर्छ, आलु वा अन्य तरकारी खेती गर्नेले सिंचाइको व्यवस्था गरेकै हुन्छन् तर अन्य तोरीबाली तथा रबिबालीलाई मौसमी पानीको आवश्यकता पर्दछ । यस्ता धेरै बाली छन् जसलाई आकाशे पानी चाहिएको हुन्छ । आकाशे वर्षा भएन भने कतिपय बालीनालीलाई धेरै नोक्सान हुन्छ वा बालीको उत्पादनमा निकै कमी आउँछ । बालीको उत्पादनमा प्रभाव पर्ने आशङ्का किसानहरूले गरिरहँदा रोग तथा कीराको प्रकोप पनि बढ्ने आशङ्का छ । यसैगरी शिक्षित समुदायमा गर्मी अत्यन्तै हुने भय पनि रहेको छ । अहिले पुसमा नै यस्तो घाम छ कि फागुनको मध्य लागेको जस्तो अनुभूति हुन्छ भन्ने कुरा गरिरहेका मानिसहरूले माघको आधा आउँदासम्म जाडो बाँकी नरहने शङ्का गरिरहेका छन् । अनि फागुन आधा आउँदासम्म घामले कस्तो रूप देखाउने होला भन्ने अडकल गरिरहेका छन् । अनि पानी पर्नुपर्ने सबैको भनाइ छ । हिउँदे पानी कम पर्ने अनुमान पनि धेरैले लगाइरहेका छन् किनभने यस वर्ष धानको सिजनमा निकै पछिसम्म पानी परेको थियो । अहिले पानी नपर्ने हो भने गर्मी बढ्ने र धेरै क्षेत्रमा नकारात्मक प्रभाव पर्ने अनुमान रहेको छ । हुनत सर्वसाधारणले मौसमलाई कुनै पनि उपाय गरेर अनुकूल बनाउन सकिने होइन तर मौसमले सबैभन्दा बढी यही वर्गलाई प्रभावित पारेको देखिन्छ । यद्यपि यस वर्षको अहिलेसम्मको जाडोको वास्तविक प्रवृत्ति के हो भन्ने अनुमान सहज लगाउन सकिएको छैन ।

पुनश्चः
पश्चिम नेपालमा भने यस मौसममा दुईपटक पानी परिसकेको छ । यस दृष्टिकोणले मौसमले देशको अधिकांश भागमा हिउँ पर्नुबाहेक, वास्तविक स्वरूप नै देखाएको छ । हामीकहाँ पनि किसान अनुकूल मौसम बनोस् भन्ने चाहना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here