जेनेरिक औषधि सिफारिश गर्ने व्यवस्था लागू गर्ने पहलले उपभोक्ता हितका लागि महŒवपूर्ण कोसेढुङ्गा तय गर्न सक्ने छ । यसो हुन सक्यो भने नेपालको औषधि प्रणालीमा ऐतिहासिक सुधारका रूपमा लिनुपर्ने हुन्छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको ‘जेनेरिक औषधि सुझाव समिति’ले उपभोक्तालाई गुणस्तरीय, सस्तो र सुपथ मूल्यमा औषधि उपलब्ध गराउन मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ । जेनेरिक औषधि भनेको कुनै पनि औषधिको सक्रिय रसायनिक तŒव (Active Ingredient) यथावत् राखेर उत्पादन गरिने औषधि हो । यो ब्रान्डेड औषधिको तुलनामा सस्तो, गुणस्तरीय र उपभोक्ता लागि सुलभ हुन्छ । ब्रान्डेड औषधि उत्पादन गर्दा हुने विज्ञापन खर्च र अन्य बजार प्रवद्र्धन खर्च नलाग्ने भएकाले जेनेरिक औषधिको मूल्य ब्रान्डेडभन्दा निकै कम हुन्छ । जेनेरिक औषधि उत्पादन गर्दा आवश्यक मापदण्ड पूरा गर्नुपर्ने भएकाले यसको गुणस्तर पनि कमजोर हुँदैन । मुलुकभरका अस्पताल र फार्मेसीमा सहजरूपमा उपलब्ध गराउन सकिने हुँदा उपभोक्तालाई आफ्नो रोजाइ अनुसार औषधि छनोट सजिलो हुन्छ ।

नेपालमा हाल चिकित्सकहरूले औषधिको ब्रान्ड नाम सिफारिश गर्ने चलन छ । यसले उपभोक्तालाई सिफारिश गरिएका ब्रान्डका औषधि मात्र किन्न बाध्य बनाइरहेको छ, जसका कारण उनीहरूले महँगो मूल्य तिर्न बाध्य हुन्छन् । औषधिको भन्दा पनि उपभोक्ताले ब्रान्डको मूल्य तिर्नुपरिरहेका छ । महँगो ब्रान्डेड औषधिको सट्टा सस्तो र गुणस्तरीय जेनेरिक औषधि उपलब्ध गराए उपभोक्ताको स्वास्थ्य उपचार खर्च स्वतः घट्नेछ । यसो भएमा दुर्गम क्षेत्रका नागरिकलाई पनि सुपथ मूल्यमा औषधि उपलब्ध गराउन सकिन्छ । चिकित्सकहरूले औषधि सिफारिश गर्दा अनिवार्यरूपमा जेनेरिक नाम उल्लेख गर्ने प्रावधान लागू गर्नाले उपभोक्ताले ब्रान्ड नभई आफूलाई उपयुक्त कम्पनीको औषधि छनोट गर्न पाउनेछन् । स्वास्थ्यमन्त्रीको पहलमा थालिएको यो प्रयास सफल हुँदा नागरिकको हितमा हुन्छ । हामीभन्दा सचेत उपभोक्ता रहेका अन्य मुलुकहरूले जेनेरिक औषधि सिफारिश प्रणालीलाई निकै पहिलेदेखि नै अँगालिसकेका छन् । अमेरिका, युरोप, छिमेकी मुलुक भारतलगायतका देशहरूमा जेनेरिक औषधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ ।

अमेरिकामा औषधिको मूल्य नियन्त्रण गर्न जेनेरिक औषधिको उपयोग अनिवार्य गरिएको छ । छिमेकी मुलुक भारतमा जेनेरिक औषधि प्रवद्र्धन गर्न जनऔषधि केन्द्र स्थापना गरिएका छन् । त्यसैगरी, युरोपमा जेनेरिक औषधिले औषधि बजारमा प्रतिस्पर्धा बढाएर उपभोक्ताका लागि सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराएको छ । सकारात्मक तथा उपभोक्तालाई फाइदाका साथै जेनेरिक औषधि प्रणाली लागू गर्दा केही चुनौतीहरू पनि आउन सक्छन् । मुख्य चुनौती भनेको उपभोक्तामा जेनेरिक औषधिको गुणस्तरबारे विश्वास कायम गराउन समय लाग्न सक्छ । अर्कोतर्फ ब्रान्डेड औषधि उत्पादन र प्रवद्र्धन गर्ने ठूला कम्पनीहरूले यसमा अवरोध गर्न सक्छन् । जेनेरिक औषधी सिफारिश शुरू भएपछि चिकित्सकहरूले ब्रान्डेड औषधि कम्पनीबाट पाइरहेको कमिसन मर्ने हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूबाटै पनि अवरोध आउन सक्छन् । उपभोक्ताले पूर्णरूपमा विश्वास नगरिरहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीबाटै असहयोग, दुरुपयोग भइदियो भने सरकारले कडा अनुगमनका साथै जनचेतना जागरणमा ध्यान दिनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here