प्रस, परवानीपुर, ९ पुस/
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंज अन्तर्गतको वीरगंज महानगरपालिका–२७ र बहुदरमाई नपाको सिमानामा पर्ने तिलावे पुल भास्सिएको बारेमा सिंचाइ विभागको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ ।

करीब नौ महीना अघि सो पुलको पश्चिमतर्फको पिलर भासिएर दुईवटा स्लाब धसेको थियो । पिलर भासिएर स्लाब खस्ने अवस्थामा पुगेपछि सो स्थानबाट आवतजावत बन्द भएको थियो । पुलमुनिबाट मानिस र सवारीसाधनहरूको आवतजावत शुरू भएको थियो । पैदलयात्री, साइकल, मोटरसाइकलहरू पुलमुनिबाट आवतजावत हुँदै आएकामा अहिले पिलर भासिएको र स्लाब खस्ने अवस्थामा रहेको पुलबाटै पैदलयात्री तथा साइकल र मोटरसाइकल यात्रीहरू जोखिमपूर्ण यात्रा गरिरहेका छन् । तिलावे पुलको यस अवस्थाबारेमा नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजले सिंचाइ विभागलाई लिखित जानकारी गराइसकेको छ । नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजको पत्रका आधारमा गत आइतवार पुस ७ गते विभागबाट प्राविधिकहरूको टोली घटनास्थलमा पुगेर पुलको अवस्था, मर्मत तथा नयाँ पुल निर्माणका लागि प्रारम्भिक लगत बनाएको थियो । नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजका सूचना अधिकारी इन्जिनीयर सुरेश साहले विभागको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको र मर्मतमा २५ लाख बढी तथा नयाँ पुल निर्माणमा करीब २१ करोड लागत अनुमान गरेको बताए ।

आजभन्दा ५० वर्ष अघि निर्मित गण्डक नहरको सो पुलको आयु तत्कालीन अवस्थामा ५० वर्ष आकलन गरिएको थियो । भारत सरकारको सहयोगमा निर्मित गण्डक नहर अन्तर्गतका पुलहरूको आयु ५० वर्ष पुगे पनि पर्सा, बारा र रौतहट अन्तर्गत गण्डक नहरमा रहेका पुलमा पछिल्लो समय सार्वजनिक र निजी सवारीसाधनहरूको आवतजावत बढेको छ ।

सिंचाइ प्रयोजनका लागि मात्र निर्मित गण्डक नहरको बाटोमा सार्वजनिक र निजी सवारीसाधनहरूको प्रयोग बढेसँगै सडक र पुलको आयु कम भएको हो । गण्डक नहर र बाटोलाई सुरक्षित राख्नका लागि तत्कालीन अवस्थामा सिसौंका बिरुवा रोपिएको थियो ।

तीन दशक अघि नै नहरका दुवै किनारमा रोपिएका सिसौंका रूखहरू स्थानीयले कटान गरेपछि अहिले नहर पनि असुरक्षित अवस्थामा छ । नहरको सुरक्षार्थ सिसौंका रूखहरू रोपिएको तर स्थानीयले कटान गरेपछि गण्डक किनार असुरक्षित भएर बाढीको बखत ठाउँठाउँमा किनार फुटेर नहरको पानी शहरी क्षेत्रमा प्रवेश गरेर डुबान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here