प्रस, जीतपुर, ९ पुस/
नेकपा एमालेको जनसङ्गठन भूमि अधिकार तथा श्रमिक सङ्गठन, नेपाल, मधेस प्रदेश कमिटीको बैठक पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको आतिथ्यमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा सम्पन्न भएको छ ।

बैठकमा एमाले नेता पौडेलले श्रमजीवी जनताको मुक्तिको आन्दोलनका लागि श्रमिक सङ्गठनमा लाग्नुपर्ने बताए । उनले भूमिहीन श्रमिकको पक्षमा एमालेले मात्रै कार्य गरेको दाबी गरे ।

एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले असङ्गठित क्षेत्रका श्रमिकहरूले दिनमा पाँच किलो अन्न ज्याला पाउने गरेको, कतिपय ठाउँमा कम ज्यालामा काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै योग्यता अनुसारको काम र काम अनुसारको दामका लागि सबै गोलबद्ध भएर लाग्नुपर्ने आग्रह गरे ।

भूमिहीन श्रमिक सङ्गठनका महासचिव इन्द्र लामाले भूमिहीनहरूको समस्या समाधान गर्नका लागि सङ्गठन लागिपरेको उल्लेख गर्दै श्रमिकको दुःख–सुखको साथी आफ्नो सङ्गठन भएको बताए ।

मधेस प्रदेश कमिटी अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष एवं राष्ट्रिय भूमि आयोगका केन्द्रीय सदस्य गुञ्ज खड्का, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रमेश सापकोटा, एमाले मधेस प्रदेश सदस्य ढुण्डिराज उप्रेती, जिल्ला सदस्य सरीता सापकोटालगायतको सहभागिता थियो ।

बैठकले पुस मसान्तभित्र जिल्ला अधिवेशन तथा बैठक गरिसक्ने र फागुन मसान्तभित्र मधेस प्रदेशका सबै वडामा सदस्यता वितरण तथा वडा कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । साथै बैठकले भूमिहीन तथा सुकुमबासीहरूको तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here