प्रमोद यादव, पंचगावाँ, ८ पुस/
पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुर टाँडीस्थित बुलबुले ताल संरक्षणको अभाव झेल्दै आएको छ ।
करीब चार दशकदेखि अस्तित्वमा रहेको बुलबुले तालको स्वरूप अहिले सामान्य परिवर्तन भएपनि पुरानै अवस्थामा छ । पुरानो बुलबुले तालको पूर्वपट्टि अहिले भवरीमाई मन्दिर निर्माण गरिएको छ । त्यसैगरी, पूर्वपट्टि नै थारू सङ्ग्राहलयको निर्माण कार्य हुँदैछ ।
पश्चिमतर्फ पार्क निर्माण भएको छ भने दक्षिणतर्फ विवाह मण्डप बनाइएको छ । पटेर्वासुगौली गापाले रङ्गपुरटाँडीमा लाग्ने हाटबजारलाई सोही ठाउँमा ल्याएर सञ्चालन गर्दैछ । हाटबजार भवन पूर्णरूपमा बनिसकेको छ तर रङ्गपुर टाँडीबाट करीब डेढ सय मिटर टाढा पर्ने यो स्थानमा हाटबजार भने शुरू भइसकेको छैन । बुलबुले तालको आप्mनै अस्तित्व छ । यो तालमा गर्मीयाममा चीसो पानी र जाडोयाममा तातो पानी निस्किन्छ । यहाँबाट निस्किने पानी जमुनिया खोलामा पुग्छ ।
इलाका वन कार्यालय, रङ्गपुरटाँडीदेखि सय मिटरपूर्व रहेको यो ताललाई गापाले संरक्षण गर्न नसक्दा आम मानिसको पहुँच बढ्न सकेको छैन । स्थानीयले पनि यो तालबाट लाभ लिन सकेका छैनन् । नौ वर्षदेखि यो ताललगायत सो क्ष्Fेत्रको हेरचाह बिगा सहनीले गर्दै आएका छन् । उनी भन्छन्, बिहान चीसो भएको बखतमा तालबाट तातो पानीको बुलबुला आउँछ र बग्छ । घाम लाग्दै गएपछि तालको पानी चीसो हुन्छ । गर्मीयाममा यो तालबाट चीसो पानी निस्किन्छ । अहिले जाडोयाममा तातो पानी निस्किन्छ ।
पहिले रङ्गपुरटाँडीबाट मानिसहरू जाडोयाममा तातोपानीले र गर्मीयाममा चीसो पानीले नुहाउन ताल आउने गर्थे । अहिले घरघरै पानीको पहुँच भएपछि रङ्गपुरका बासिन्दा तालमा आउन छोडेका छन् ।
तालको वरिपरि जङ्गल क्षेत्रमा आर्टिजन धाराको व्यवस्था गरिएको छ, जसमा मानिसहरू नुहाउने, पानी पिउने, हातखुट्टा धुने गर्छन् । तर तालबाट निस्किने पानीको प्रयोग भने उनीहरूले गर्न छाडेका छन् । गापाले पनि यसको संरक्षण र प्रचारमा खासै चासो नदेखाउँदा ४० वर्ष अगाडि अस्तित्वमा देखिएको यो ताल बेताल अवस्थामा छ ।