प्रस, पोखरिया, ८ पुस/
पटेर्वासुगौली गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूसँग शुल्क लिएर परीक्षा सम्पन्न गराएका छन् ।
हालै सम्पन्न अर्धवार्षिक परीक्षामा बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरूसँग क्रमशः रु १० देखि १०० सम्म परीक्षा शुल्क लिइएको थियो । स्थानीय रामजनम चौधरीले नगरपालिका मातहतका सामुदायिक विद्यालयहरूमा कुनै पनि प्रकारको शुल्क नलिन भनेर आन्दोलन गरेको र पालिकाले शुल्क नलिने भनेर उनीसँग सहमति गरेर आन्दोलन तुहाएको थियो ।
अहिले पालिकाले अर्धवार्षिक परीक्षामा सामुदायिक विद्यालयलाई आर्थिक सहयोग नगर्दा विद्यालयहरूले शुल्क लिएर अर्धवार्षिक परीक्षा गराएका थिए । पालिकाले शुल्क लिएर अर्धवार्षिक परीक्षा गर्न र परीक्षापछि पालिकाले रकम दिने आश्वासन दिएको छ । अहिले पालिकाले सामुदायिक विद्यालयहरूलाई अर्धवार्षिक परीक्षाका लागि सहयोग नगर्दा अभिभावकहरूको रकम फिर्ता हुन सकेको छैन ।
पालिकाको शिक्षा शाखा प्रमुख शैलेन्द्र पञ्जियारले पालिकाले वार्षिक परीक्षामा मात्र विद्यालयहरूलाई रकम सहयोग गर्न सक्ने बताए । उनले त्रैमासिक, अर्धवार्षिक परीक्षा विद्यालयहरू आफैंले सञ्चालन गर्नुपर्ने बताएका छन् । पटेर्वासुगौलीमा २४ वटा सामुदायिक विद्यालय छन् र भर्खर सम्पन्न अर्धवार्षिक परीक्षामा सबैले कक्षा अनुसार बालबालिका कक्षा एकसम्म रु १० र त्यसपछि क्रमशः कक्षा अनुसार १०/१० वृद्धि गरेर रु १०० सम्म परीक्षा शुल्क लिएका थिए । एकजना अभिभावकले अहिलेसम्म पालिकाले रकम नदिएको र विद्यालयले परीक्षा शुल्कबापत लिएको रकम फिर्ता नगरेको दुःखेसो पोखे ।
गापा अध्यक्षले नै परीक्षा शुल्क रकम उपलब्ध गराउने आश्वासन दिएको र त्यसपछि अर्धवार्षिक परीक्षा शुरू भएकोमा अहिले परीक्षा सम्पन्न भइसक्दा पनि शुल्क फिर्ता नगरेकोमा उनले आपत्ति जनाए । यस अघि त्रैमासिक परीक्षा पनि विद्यालयले अभिभावकसँग शुल्क लिएर गरेको थियो ।