प्रस, वीरगंज, ७ पुस/
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले पार्टीमा सङ्कट आएको बताएका छन् । पर्सा सङ्गठनको पहिलो जिल्ला भेलाको उद्घाटन गर्दै उपसभापति वाग्लेले पार्टीका नेतालाई दबाब र प्रभावमा पारी पार्टी फुटाउने प्रयास असफल भएपछि सभापति रवि लामिछानेलाई फसाइएको आरोप लगाए ।
उनले अहिले पनि केही नेताहरूले गुट बनाइरहेको बताउँदै रविले न्याय पाउनुपर्नेमा जोड दिए । सहकारी ठगीमा केही नभेटेपछि सरकारले सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको नाममा मुद्दा लगाएको बताए । उपसभापति वाग्लेले सरकारले सभापति लामिछानेलाई फसाउन भरमग्दुर प्रयास गरिरहेको आरोप लगाए । सरकारमा रहेका केही नेताले व्यापक भ्रष्टाचार गरेको र सोको पोल खुल्ने डरले निर्दोष लामिछानेलाई फसाइएको उनको दाबी थियो ।
सांसद डा तोशिमा कार्कीले पार्टीमा आबद्ध नेता, कार्यकर्ताले स्वच्छ काम गर्नुपर्ने बताइन् । बाटो सफा गरी अगाडि बढ्न पार्टीको निर्देशन रहेको उनले बताइन् ।
डा कार्कीले देशमा बेथिति बढ्दै गइरहेको बेला हाम्रो पार्टीले सुधार गर्न खोज्दा सभापतिलाई फसाइएको आरोप लगाइन् । वामे सर्दै गरेको पार्टीलाई केही दलका नेताहरूले घाँटी निमोठ्ने काम गरिरहेको र त्यसविरुद्ध रास्वपाका नेताहरू लाग्नुपर्ने बताइन् । कार्यक्रम जिल्ला संयोजक हरि पन्तको अध्यक्ष्Fतामा भएको थियो ।
यसैगरी, रास्वपा पर्साको आइतवार सम्पन्न प्रथम जिल्ला भेलाले पन्तकै अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । आठ सदस्यीय जिल्ला समितिमा उपसभापति तुलसा पौडेल, सचिव सुदिश प्रजापति, सहसचिव कृष्ण पासवानलगायत सदस्यहरूनिर्विरोध चयन भएका अध्यक्ष पन्तले बताए ।